काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक डा. ओम गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै गुरुङको निधनले दुःखी बनेका परिवारजन र सम्बन्धित पार्टीप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।
श्रद्धाञ्जली वक्तव्यमा प्रवक्ता सुदर्शनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक कमरेड ओम गुरुङको घाँटीको अर्बुद रोगका कारण किमो अस्पताल हरिसिद्धि ललितपुरमा असोज ३१ गते दिउँसो १ बजे निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहत बनाएको छ ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘२००९ साल माघ २७ गते जन्मिएका कमरेड गुरुङ २०२४ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न भई नेतृत्व स्तरमा आइपुग्नुभएको थियो । नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा गुरुङले पु¥याउनुभएको महत्वपूर्ण योगदानप्रति आभारी हुँदै उहाँको सपना वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्न प्रतिबद्ध रही अन्तिम सलामसहित हार्दिक श्रद्धाञ्जली ! दुखित परिवारजन र सम्बन्धित पार्टीप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) हार्दिक समवेदना व्यक्त गर्दछ ।’