काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको बुद्धचित्त माला लुटिएको सार्वजनिक भएपछि स्थानीयवासीमा त्रास र आक्रोश फैलिएको छ। स्थानीय स्रोतका अनुसार घटना अत्यन्त योजनाबद्ध ढंगले गरिएको देखिएको छ भने यसले ग्रामीण क्षेत्रमा बढ्दो संगठित आपराधिक गतिविधिप्रति गम्भीर प्रश्नसमेत उठाएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार चारवटा मोटरसाइकलमा आएका व्यक्तिहरूको एक समूहले घटनास्थल वरपरको अवस्था पूर्वतयारीका साथ नियन्त्रणमा लिएको थियो। उनीहरूले सर्वप्रथम घटनास्थल नजिक जडान गरिएको सीसीटीभी क्यामेरालाई कपडाले छोपेर निगरानी प्रणाली निष्क्रिय बनाएको बताइएको छ। त्यसपछि बुद्धचित्तको बोटको रेखदेख गरिरहेका चार जना कुरुवालाई नियन्त्रणमा लिई उनीहरूको मोबाइल फोनसमेत खोसेर बाहिरी संसारसँग सम्पर्कविहीन बनाइएको स्रोतको दाबी छ।
त्यसपछि उक्त समूहले बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको बुद्धचित्त माला लुटेर फरार भएको बताइएको छ। घटनाको प्रकृति हेर्दा लुटेरा समूहले पूर्वसूचना, योजनाबद्ध रणनीति तथा जिम्मेवारी बाँडफाँडसहित अपराध गरेको हुन सक्ने स्थानीयको अनुमान छ।
घटनास्थलमा रहेका कुरुवाहरूले दिएको जानकारीअनुसार, लुटपाटमा संलग्न समूहको नेतृत्व वाला लामा नामले चिनिने व्यक्तिले गरेको उनीहरूको दाबी छ। साथै, उनीहरूले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिकाका तरुण दलका अध्यक्ष रमेश तामाङ,तिलक लामा तथा अनिल लामा भनिने अर्का एक व्यक्तिको समेत संलग्नता रहेको आरोप लगाएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेको भए पनि प्रहरी पुग्दासम्म लुटेरा समूह फरार भइसकेको बताइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ, सम्भावित सीसीटीभी फुटेजको परीक्षण तथा संलग्न व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार बल प्रयोग, डर–धम्की, नियन्त्रण वा हिंसात्मक माध्यम अपनाई अरूको सम्पत्ति हरण गर्ने कार्य गम्भीर फौजदारी अपराधको रूपमा लिइन्छ। यदि अनुसन्धानबाट योजनाबद्ध रूपमा समूह बनाई लुटपाट गरिएको पुष्टि भएमा सम्बन्धित कसुरअनुसार कडा कानुनी कारबाही हुन सक्ने कानुनविद्हरू बताउँछन्। साथै, घटनामा कसैको संलग्नता प्रमाणित भएमा उनीहरूलाई प्रचलित कानुनअनुसार अभियोजन गरिनेछ।
घटनापछि खार्पाचोक तथा आसपासका बासिन्दाले ग्रामीण क्षेत्रमा समेत यस्ता संगठित आपराधिक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बुद्धचित्त खेती तथा व्यापारबाट जीविकोपार्जन गरिरहेका किसान र व्यवसायीहरूले आफ्नो सुरक्षा सुनिश्चित गर्न राज्यको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताएका छन्।
स्थानीयवासीले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार यस्तो प्रकृतिका घटनाले व्यवसायिक वातावरण मात्र होइन, समाजमा कानुनप्रतिको विश्वाससमेत कमजोर बनाउन सक्छ।
यस घटनाबारे नेपाल प्रहरीले हालसम्म औपचारिक विस्तृत विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा थप तथ्य सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ। घटनाको वास्तविकता अनुसन्धानपछि मात्र स्पष्ट हुने भएकाले आधिकारिक निष्कर्ष आउन बाँकी रहेको छ।
