२०८३ असार ३१, बुधवार

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

सुर्खेत : कर्णालीमा मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् ।एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।

बुधबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष एकसाथ राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइएको पुष्टि गर्दै भने, “हामीले राजीनामा बुझाउने भनेकै मुख्यमन्त्रीसमक्ष हो। त्यही अनुसार राजीनामा बुझाएका छौँ। बाँकी विषय सरकारका प्रवक्तासँग बुझ्नुहोला।,”

राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्। स्रोतका अनुसार मन्त्रीहरूले कांग्रेसको समर्थन यथावत रहने गरी मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्रीहरूले गत असार २० गते नै राजीनामा बुझाउने तयारी गरेका थिए। तर, विभिन्न कारणले त्यसबेला राजीनामा नबुझाई बुधबार मात्रै औपचारिक रूपमा मुख्यमन्त्रीसमक्ष बुझाइएको स्राेतले बतायाे । स्रोतका अनुसार मन्त्रीहरूले राजीनामा बुझाउनुअघि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग दुई दिनअघि छलफल गरेका थिए।