तिलक बस्नेत र सारिका घिमिरेको मार्मिक प्रस्तुति, ‘बचनको घाउ निको भएन’ ले जित्दैछ दर्शकको मन
by तुफान न्यूज
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा फेरि एकपटक गहिरो भावना, प्रेम, पीडा र बिछोडको कथा बोकेको नयाँ गीत ‘बचनको घाउ निकै भएन’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसको भावुक कथा, हृदयस्पर्शी शब्द, मिठासपूर्ण स्वर तथा उत्कृष्ट दृश्य प्रस्तुतिले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
मानिसको जीवनमा कहिलेकाहीँ शरीरमा लागेको घाउभन्दा मनमा परेको घाउ धेरै गहिरो हुन्छ । समय बित्दै जाँदा शारीरिक चोट निको हुन सक्छ, तर विश्वास, प्रेम र वचनमा लागेको चोट जीवनभर बिर्सन सकिँदैन,यही यथार्थलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको गीत ‘बचनको घाउ निकै भएन’ ले प्रेम, विश्वासघात, पीडा र सम्झनाको गहिरो अनुभूति गराएको दर्शक श्रोताको प्रतिकृया रहेको छ ।
गीतमा चर्चित गायक तिलक बस्नेत र लोकप्रिय गायिका सारिका घिमिरेले आफ्नो सुमधुर तथा भावनाले भरिएको स्वर दिएका छन् । दुवै गायक–गायिकाको स्वरले गीतको भावलाई अझ सशक्त बनाएको छ । प्रेममा दिएको एउटा वचन कसरी जीवनभरको घाउ बन्न सक्छ भन्ने यथार्थलाई उनीहरूको गायनले जीवन्त रूपमा अभिव्यक्त गरेको छ ।
यस गीतका शब्द तथा संगीत स्वयं तिलक बस्नेतले सिर्जना गरेका हुन् , सरल तर गहिरो अर्थ बोकेका शब्दहरू र मन छुने संगीत संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । गीतको संगीत संयोजन रामकृष्ण थापा ले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मनोज परियार ले गरेका छन् । त्यस्तै, रेकर्डिस्ट राजेश नेपालीको मेहनत र ‘आफ्नो मन’ स्टुडियो मा गरिएको ध्वनि रेकर्डिङले गीतको गुणस्तरलाई थप उत्कृष्ट बनाएको छ ।
यस गीतको अडियो तथा भिडियो ‘तिलक बस्नेत अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ ।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त र मन छुने बनेको छ । भिडियोको निर्देशन विराज बास्कोटा ले गरेका छन् । उनले कथालाई भावनात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्ने प्रयास गरेका छन् । प्रेम, विश्वास, सम्बन्ध र बिछोडका अनेक आयामलाई भिडियोमार्फत संवेदनशील ढंगले चित्रण गरिएको छ ।
भिडियोमा विराज बास्कोटा, सुनिशा बजगाईं, केशव बस्नेत र निराझन लाम्साल (कार्लोस) को अभिनय देख्न सकिन्छ । कलाकारहरूले आफ्नो भूमिकालाई अत्यन्त स्वाभाविक र जीवन्त रूपमा प्रस्तुत गरेका छन् । विशेष गरी प्रेममा परेको पीडा, सम्बन्धको उतारचढाव र भावनात्मक द्वन्द्वलाई उनीहरूको अभिनयले दर्शकको मनमा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
यस भिडियोको छायांकन दिनेश सुवेदी ले गरेका हुन् ,उनले दृश्यहरूलाई कलात्मक ढंगले कैद गर्ने राम्रो कोशिस गरेका छन् , जसले गीतको कथालाई थप प्रभावकारी बनाएको छ । त्यस्तै, सम्पादन तथा कलर अमृत चापागाईं ले गरेका छन् , आकर्षक सम्पादन र सन्तुलित रङ संयोजनले भिडियोलाई आधुनिक र उत्कृष्ट बनाएको छ ।
कलाकारहरूको मेकअपको जिम्मेवारी अर्चना परियार ले सम्हालेकी छिन् भने भिडियो निर्माणमा क्रुक इन्टरटेन्मेन्ट र मण्डला थिएटर को विशेष सहयोग रहेको निर्माण पक्षले जनाएको छ ।
नेपाली सांगीतिक बजारमा प्रेम, पीडा र जीवनका यथार्थ कथाहरू बोकेका गीतहरूलाई दर्शक–श्रोताले सधैं रुचाउने गरेका छन् । त्यही कारण ‘बचनको घाउ निको भएन’ पनि सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ । गीतका शब्द, संगीत, गायन, अभिनय र दृश्य प्रस्तुति सबै पक्षले उत्कृष्ट सन्तुलन कायम गरेको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।
गीतले एउटा गहिरो सन्देश पनि दिन खोजेको छ—मानिसले दिएको वचन केवल शब्द मात्र हुँदैन, त्यो कसैको जीवन, विश्वास र भविष्यसँग जोडिएको हुन्छ । जब त्यही वचन टुट्छ, त्यसको पीडा वर्षौैं बिते पनि निको हुँदैन । यही भावनात्मक सत्यलाई गीतले अत्यन्त संवेदनशील र कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
सशक्त शब्द, मन छुने संगीत, भावपूर्ण गायन, उत्कृष्ट अभिनय र उच्चस्तरीय प्राविधिक पक्षको संयोजनमा तयार भएको ‘बचनको घाउ निकै भएन’ नेपाली संगीतप्रेमीका लागि हेर्नै र सुन्नैपर्ने सिर्जनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।