– सुभेच्छा पाण्डे
“कुटेको मात्र त छैन नि ! टन्न खान दिएको छ, राम्रो लाउन दिएको छ, जीउभरि सुन लाइदिएको छ। आखिर के पुगेको छैन र उसलाई ?”
हाम्रो समाजमा एउटी विवाहित महिलाको ‘सुख र भाग्य’ नाप्ने गज यत्ति नै हो। यदि श्रीमान्ले भौतिक रूपमा हात हालेको छैन र घरमा खान-लाउन दुःख छैन भने समाजले त्यसलाई आदर्श र सुखी परिवारको ट्याग भिराइदिन्छ। तर, सुनका गहनाले सजिएकी र निधारभरि भारी सिन्दूर सजाएकी त्यही महिला भित्रभित्रै कुन हदसम्म निसासिएकी छ भनेर बुझ्ने फुर्सद न त उसको श्रीमान्लाई हुन्छ, न त समाजलाई।
दुनियाँलाई सुखी देखाउने र ‘संस्कारी’ बन्ने चक्करमा आज कतिपय महिलाहरू डिप्रेसनको औषधि खाँदै, सिरानी भिजाउँदै, गुम्सिएर बाँचिरहेका होलान्। बाहिर हाँसेर भित्रभित्रै आफूलाई जिउँदै मारिरहेका छन्। आखिर मानिस भएर जन्मेपछि एकदिन मर्नै पर्छ, तर जिउँदो लास बनेर पलपल मर्नुको पीडा कस्तो हुन्छ?
धेरैजसो अवस्थामा २० वर्षभन्दा मुनिको कलिलो र अपरिपक्व उमेरमा ‘राम्रो र धनसम्पत्ति भएको परिवार छ’ भन्दै केटीको मन र भावना नबुझी मागी विवाह गरिदिइन्छ। जहाँ कुनै आत्मीयता र साँचो सामीप्यता हुँदैन, त्यहाँ प्रेम बिनाको सम्बन्धमा हरेक रात ओछ्यान बाँडिनु एउटी महिलाका लागि कति ठूलो मानसिक र शारीरिक यातना होला? कसैले कुटेर नीलडाम पार्नु मात्र दुःख होइन; मनै नमिलेको मान्छेसँग ‘श्रीमती’ को ट्याग भिरेर पलपल मर्नु सबैभन्दा ठूलो नरक हो।
हाम्रो समाजको अचम्मको दोहोरो चरित्र त हेर्नुहोस् ! यदि त्यही कलिलो उमेरमा कसैले आफ्नो रोजाइमा विवाह गर्न खोजे यो समाज परिपक्वता नपुगेको भन्दै रोक्न र कराउन पुग्छ। तर, जब आफ्नै भनिने आफन्त र नातागोताहरू अघि सरेर पारिवारिक प्रतिष्ठा र सम्पत्तिको प्रलोभन देखाउँदै फकाउन थाल्छन्, तब उनीहरूलाई त्यो उमेर सानो लाग्दैन। कहिलेकाहीँ त लाग्छ, आफ्नै मान्छेहरूले आफ्नो कुन नाफा-घाटा वा निहित स्वार्थका लागि ती कलिला नानीहरूलाई फकाएर त्यो दलदलमा धकेल्छन्, जुन एउटा अदृश्य किनबेच जस्तै प्रतित हुन्छ।
जुन उमेरमा “अहिले तिम्रो विवाह गर्ने समय होइन, पढ्ने र करियर बनाउने उमेर हो” भनेर सम्झाएर रोक्नुपर्ने थियो, त्यतिबेला विभिन्न बहानामा विवाहको खाल्डोमा हालिन्छ। तर, जब त्यही कलिलो उमेरकी छोरीले त्यो नरक भोग्छिन्, आफ्नो दुःख रुँदै सबैलाई सुनाउँछिन् र कसैले साथ नदिएपछि बाध्य भएर अन्तिम चरणमा अदालतको कठघरासम्म पुग्छिन्, तब तिनै आफन्त र समाज “तेरो दिमाग छैन, तैले बुझिनस्, अलिकति सहन सक्नुपर्छ” भन्दै उल्टै अर्को उपदेश छाँट्न आइपुग्छन्। जब सम्झाउनुपर्ने बेला थियो, तब सबै मौन बसे; तर जब एउटी नारीले आफ्नो ज्यान र आत्मसम्मान जोगाउन खोज्छे, तब सबैजना सम्झाउने महाज्ञानी पण्डित बनेर आउँछन्।
आफ्नै भनिने मान्छेहरूले आफ्नै अगाडि एउटी नारीले दुःख भोग्दा पनि साथ दिनुको सट्टा “यो त भोग्नै पर्छ, महिलाको जातले सहनै पर्छ” भन्दै दलदलतिरै धकेल्छन्। उनीहरू आफैँ धमिलो पानीमा पौडिरहेका हुन्छन्, उनीहरूलाई थाहा हुन्छ कि त्यहाँको जीवन कति कष्टकर छ, तर पनि उनीहरू त्यो चक्रव्यूहबाट कसैलाई निस्कन दिँदैनन्। आफू पनि डुब्ने र अरूलाई पनि त्यहीँ डुबाइराख्ने कस्तो क्रूर मानसिकता हो यो?
साँचो दुःख तब सुरु हुन्छ, जब आफ्नो मनको खुसी मर्दछ। आफूले चाहेको कुरा गर्न नपाउनु, आफ्नै घरका सदस्य वा ससुराली खलकका दरिद्र र कुरुप नजरहरूलाई सहँदै ‘मर्यादा’ को नाममा चुप बस्नुपर्नु, र श्रीमान्ले आफ्नो कमजोरी लुकाउन उल्टै “तेरो माइतीको हविगत के थियो र?” भन्दै अपमान गर्नु के यो हिंसा होइन? “दुःख पाउनु र सहनु तेरो कर्तव्य हो, सुख पाउनु मेरो अधिकार हो” भन्ने सोच राख्ने पुरुषसँग एउटै ओछ्यान बाँड्नु कति पीडादायी होला, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।
यी सबै अत्याचार र मानसिक नरकलाई त्यागेर जब एउटी महिला आफ्नो आत्मसम्मानका लागि निधारको सिन्दूर र गलामा पोते नलगाई, समाजको त्यो नक्कली घेराबाट बाहिर निस्किन्छिन्, तब उनी भित्रबाट साँच्चिकै खुसी हुन्छिन्। उनले आफ्नो भागको सुख आफैँ कमाएर खान्छिन्। तर, अचम्मको कुरा ! यो ढुङ्गे समाजले उनको त्यो भित्री शान्ति देख्न सक्दैन। समाज फेरि दसथरी कुरा काट्न थाल्छ— “बच्चाको बारेमा सोचेन, बच्चाको जिन्दगी बर्बाद पारी।”
अरे यार ! त्यो बच्चा पनि त भोलि ठूलो हुन्छ, उसको आफ्नै जिन्दगी र आफ्नै चेतना हुन्छ। के एउटी आमाले आफ्नो सिङ्गो जिन्दगी एउटा कुरुप र हिंस्रक सम्बन्धमा सुकाएर मात्र बच्चाको भविष्य बन्छ र? एउटी अशान्त र पलपल मरेकी आमाको काखमा हुर्कनुभन्दा, एउटी आत्मनिर्भर र स्वाभिमानी आमाको छहारीमा हुर्कनु बच्चाका लागि बढी सुरक्षित र प्रेरणादायी हुन्छ।
हाम्रो समाज ट्याग लगाउन असाध्यै हतारो गर्छ। कसैलाई ‘डिभोर्सी’ (पारपाचुके गरेकी), कसैलाई ‘विधवा’, त कसैलाई ‘अभागी’ को बिल्ला भिराइदिन्छ। तर, माया र प्रेम यस्ता ससाना ट्याग वा समाजका कानुनी कागजले तय गर्ने कुरा होइनन्। बिहेअघि प्रेम सम्बन्धमा बस्नु, अनेकौँ कुराहरू अनुभव गर्नु आजको समयमा सामान्य भइसकेको छ। सम्बन्धहरू बन्नु र भत्किनु पनि मानवीय जीवनकै हिस्सा हो। फेरि पनि समाजले एउटी महिलालाई मात्रै किन कठघरामा उभ्याउँछ?
तर याद राखोस् यो समाजले— जसलाई उनीहरू ‘डिभोर्सी’ को ट्याग लगाइदिन खोज्छन्, उनले त्यो कुरुप सम्बन्धलाई जलाएर उहिल्यै खरानी बनाइसकेकी हुन्छिन्। अब उनी पूर्ण रूपमा ताजा छिन्, नयाँ छिन्। यो उनको ‘पुनर्जन्म’ हो। पहिलो पटक उनलाई आमाबाबुले जन्माएका थिए, तर यो दोस्रो जन्म उनले आफैँले आफैँलाई दिएकी हुन्, आफ्नै आँट र पौरखले जन्माएकी हुन्।
आफैँले आफैँलाई पुनर्जन्म दिएकी यी नारी अब फेरि प्रेम गर्न स्वतन्त्र छिन्। आफ्नो खुसीसँग बाँच्न, हाँस्न र आफ्नो इच्छा अनुसार फेरि विवाह गर्न पनि स्वतन्त्र छिन्। आफ्नो खुसीका लागि उनले अब जे पनि गर्न पाउँछिन्, उनले कसैको बारेमा सोचेर आफ्नो जिन्दगी बर्बाद पार्नु पर्दैन। उनी अब आफ्नै अधिकारले स्वाभिमानी भएर बाँच्छिन्।
यो समाजले उनलाई ठूलो ‘नारी’ भनेर पूज्नु वा बुझ्नु पर्दैन, बस कसैले उनको खुसी बुझिदिए पुग्छ। कसैले नबुझे पनि केही फरक पर्दैन, किनकि उनी आफैँमा खुसी र सन्तुष्ट छिन्।
अन्त्यमा, यो समाजका ठेकेदारहरूलाई एउटै आग्रह छ— सक्छौ कसैको लागि राम्रो गर, कसैलाई राम्रो भन। तर यदि सक्दैनौ भने, अर्काको कुरा काटेर, नराम्रो भनेर कसैको मन दुखाउने काम नगर। बोल्नुअघि सोचेर बोल्ने गरौँ। के थाहा, तिमीले ठट्टा वा रिसमा बोलेको एउटा सानो नराम्रो शब्दले अर्को मान्छेको दिमाग कहाँ पुग्छ र कति ठूलो असर पार्छ? तिम्रो एउटा सानो बचनले कसैको दिन, रात र महिनौँको मानसिक शान्ति खराब हुन सक्छ।
त्यैसेले सोच बदलौँ। भारी सिन्दूर र साडीमा सजिएर समाजले दिने ‘नक्कली संस्कारी’ को पगरी गुथ्नुभन्दा, आफ्नो खुट्टामा उभिएर आत्मसम्मानका साथ खुल्ला श्वास फेर्न पाउनु नै वास्तविक सुख हो। दुःख सहेर बस्ने होइन, दुःखलाई जितेर आफैँलाई नयाँ जन्म दिने महिला नै वास्तवमा सच्चा र शक्तिशाली हुन्।
