– माधव घिमिरे ‘अटल’
आज असार ११ गते बिहीवार उखुबारी सामुदायिक होम स्टेको सिन्धुपाल्चोकको सामुदायिक भवनमा एक विशेष समारोहको आयोजना भयो । भिटोफ नेपालका हरिशरण थपलियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- सुनकोशी गापा वार्ड नं.- ७ का वडाध्यक्ष तथा पालिका प्रवक्तासमेत रहेका ईश्वर तिमल्सिना ।
संस्कृति तथा पर्यटन मन्त्रालय वागमती प्रदेशको आयोजना तथा गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ-नेपाल)को सह-आयोजनामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर तिमल्सिनाले प्रत्येक पाहुनाले गाई वा भैँसी आफैँले दुहेर खाने व्यवस्था मिलाइदिन सकियो भने पनि स्थानीय पर्यटक आकर्षित गर्न सकिने बताए । सुकुटेमा आउने पर्यटकलाई एक दिन भने पनि गाउँ उकाल्न पाए पनि हुन्थ्यो भन्ने आफूलाई लागेको भए पनि अहिले विज्ञका कुरा मनन गर्दा यो सही विचार नभएको तिमल्सिनाको तर्क थियो । उनले आगन्तुक अतिथिहरूलाई स्वागत गर्दै तेन्जिङ-हिलारी पदमार्गको निर्माण पनि भइरहेको अवगत गराए । राज्यलाई उक्त पदमार्ग पूरा गर्न घच्घच्याइदिन पनि तिमल्सिनाले सञ्चारकर्मी मार्फत अनुरोध गरे ।
त्यसरी नै भिटोफ नेपालका सल्लाहकार डा. बीपी बडालले नेपालको समुज्ज्वल भविष्य केवल पर्यटन मात्र हो भन्दै पर्यटन भनेको नवप्रवर्तन हो जसले पर्यटकलाई उखुबारीतिर डोर्याओस् भन्ने उनको मनसाय थियो । स्थानीय माझी जनजातिको धर्म, संस्कृति, सभ्यतालाई अध्ययन गर्न कोही पनि पर्यटक उखुबारी सामुदायिक होम स्टे आउने बडालको जिकिर थियो । उखुजस्तै रैथाने उत्पादन प्रवर्धन र बजारीकरण गर्न भिटोफ सदा स्थानीयवासीहरुको साथमा छ भन्ने डा. बडालको स्पष्टोक्ति थियो ।
त्यसरी नै ग्रामीण पर्यटनमा विशेष दक्खल राख्ने प्रा.डा. प्रेम शर्माले आफू कुनै नयाँ कुरा सुनाउन नआएको भन्दै
यहाँका स्थानीयले आफूसँग उपलब्ध सामानलाई कला भरेर प्रयोग गर्न अब खासै सिकाउन जरुरत नभएको स्वयंलाई अनुभूत भएको बताए । उनले ‘यो ठाउँको चिनो के हो त ?’ भन्ने प्रश्न गर्दै यहाँको रैथाने चिज उत्पादन र सीप बिक्री गर्न सुझाए । भिटोफ नेपाल सहरमा रहेका र आएका पर्यटकलाई गाउँतिर जान उत्प्रेरित गर्ने संस्था रहेको अवगत गराए ।
टानका सदस्य अम्बिर गुरुङले भिटोफ नेपाल गाउँ पर्यटन प्रवर्धनमा अहोरात्र दत्तचित्त भएको र रैथाने खाना तथा संस्कृतिलाई प्रचारप्रसार र प्रवर्धन गर्नका निम्ति लगातार समर्पित रहेकोमा मुक्तकण्ठले सराहना गरे । भिटोफ पर्यटनसँग आबद्ध सबै संस्थाहरूको छाता सङ्गठन भएको दाबी गर्दै गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार तथा प्रवर्धन गर्न उत्प्रेरित गरे ।
भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेले उखुबारी आम गाउँ जस्तै एउटा गाउँ रहेको भन्दै यसले पर्यटन विकासमा चाल्न थालेको कदम निकै अन्य गाउँका निम्ति दृष्टान्त बन्ने ठोकुवा गरे । उनले सर्वप्रथम यहाँ एक बस पर्यटकलाई सेवा गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सुझाए ।
सुनकोशी गापा वडा नं. -३ का अध्यक्ष ईश्वर तामाङले स्थानीय थुप्रै चिजहरू लोप भएको भन्दै यहाँका लोप भएका कला, संस्कृति,र जनजीवनलाई पुनर्जागरण गर्ने र पर्यटक आकर्षित प्रतिबद्धता जाहेर गरे ।
उखुबारी सामुदायिक होम स्टेका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले संस्थाको अवधारणा ल्याई २०७६ सालमा दर्ता भएको संस्था अहिलेसम्म पनि सुसञ्चालन हुन नसकेको दुखेसो गरे । ‘यो होम स्टे कृषि पर्यटन प्रवर्धनसँग सम्बन्धित छ’ भन्दै प्याकुरेलले पानीको अभाव नै घरवास सञ्चालनको सबैभन्दा ठूलो तगारो भएको बताए । जे चिज बिक्री हुन्छ त्यो मात्र स्थानीयले उत्पादन गर्ने भन्दै अनुत्पादक क्षेत्रमा लाग्न कसैलाई कर गर्न नसकिने उनले प्रस्ट पारे । पानीको व्यवस्थापन भएपछि दश एघारवटा घरबाट घरवास सुरु गर्ने तरखर आफूहरूले गरेको प्याकुरेलको स्पष्टोक्ति थियो । उनले आगन्तुकलाई सत्कारयुक्त बिदाइ समेत गरेका थिए ।
उखुबारी सामुदायिक होम स्टेका उपाध्यक्ष चुडामणि प्याकुरेलले कफी उत्पादनमा सिन्धुपाल्चोक जिल्लाले तेस्रो स्थान ओगटेको भन्दै स्थानीय केराको सहज बजारीकरण गर्न नसकेको दुखेसो गरे ।
भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले उखुबारी होम स्टेको प्रवर्धनका निम्ति भिटोफ नेपाल हर कदममा साथ दिने प्रतिबद्धता व्यक्त गरे । अतिथिहरूलाई आत्मीय सम्मान अर्पण गरेकोमा हर्ष व्यक्त गर्दै थपलियाले ‘सानो कोही छैन र ठुलो पनि कोही होइन’ भन्ने उद्गारलाई आत्मसात् गर्न कार्यक्रममा उपस्थित सबैलाई आग्रह गरे ।
कार्यक्रममा टुर्गानका अध्यक्ष थानेश्वर देवकोटा, भिटोफका प्रथम उपाध्यक्ष मनहरि दाहाल, द्वितीय उपाध्यक्ष विनोद वस्ती, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, सदस्यहरू नारायण सोडारी, विकास लामा, प्रदीप तामाङ, भिटोफ नेपालका सद्भावनादूत अशोक सिलवाल, सञ्चारकर्मीहरू विक्रम श्रेष्ठ, राधा ढुङ्गाना,भूमराज तिवारी, राजकुमार सिलवाल, सुजना सिम्खडा,विन्दु थपलिया, पथप्रदर्शक ईश्वर ढकाल, पर्यटन महिला सञ्जालकी सरस्वती उपाध्याय, सुजन न्यौपाने लगायतका पर्यटनकर्मीहरू थिए । सो कार्यक्रमको सहजीकरण पर्यटन पथप्रदर्शक पुष्पराज पराजुलीले गरेका थिए ।
