९ असार २०८३, मंगलवार

काठमाडौंका ग्रील तथा स्टील व्यवसायी एकताको पक्षमा, नेतृत्वलाई ‘संस्था जोगाउन’ सामूहिक आग्रह

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आठौं साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन समारोहमा संगठनभित्रको विवाद र एकताको आवश्यकता मुख्य विषय बनेको छ।

कार्यक्रमका सभापति तथा संघका अध्यक्ष सुनिल कुमार अमात्यले आफ्नो सम्बोधनका क्रममा संघलाई छिन्नभिन्न बनाउने प्रयास भइरहेको दाबी गर्दै केही जिम्मेवार व्यक्तिहरूप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरे। उनले आगामी नेतृत्वलाई विगतका कमजोरीबाट पाठ सिकेर संगठनलाई मजबुत बनाउन आग्रह गरे।

वक्ताहरूले व्यवसायीहरूको हित र अधिकार सुनिश्चित गर्न संगठनात्मक एकता अपरिहार्य रहेको बताए। उनीहरूले व्यक्तिगत स्वार्थ र गुटबन्दीले व्यवसायी आन्दोलन कमजोर बन्ने चेतावनी दिए।

महासंघ अध्यक्ष ठुलोबाबु श्रेष्ठले पद र प्रतिष्ठाको मोहमा नफस्न आग्रह गर्दै व्यवसायी समुदायले भोगेका दुःख र संघर्षलाई नबिर्सन सबैलाई अनुरोध गरे। उनले संगठनभित्रको विवाद समाधानका लागि आवश्यक परे महासंघले हस्तक्षेप गर्ने संकेत पनि दिए।

उद्घाटन समारोहमा विभिन्न जिल्लाका अध्यक्ष, महासंघका पदाधिकारी, व्यवसायी, सञ्चारकर्मी तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मान, कदरपत्र वितरण तथा भावुक साहित्यिक प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको थियो।