९ जेष्ठ २०८३, शनिबार

चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना

काठमाडौं । सडक सफा गर्ने अभियान केवल फोहोर उठाउने कार्य मात्र होइन, समाजको चेतना, संस्कार र जिम्मेवारीलाई उजागर गर्ने आन्दोलन पनि हो भन्ने सन्देश फेरि एकपटक चक्रपथ सरसफाई महाअभियानले दिएको छ।

४७७औँ हप्ताको निरन्तर यात्रामा पुगेको चक्रपथ सरसफाई महाअभियानको अवसरमा आयोजित विशेष कार्यक्रम “सरसफाईमा साहित्य” भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र साहित्यिक चेतनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, स्वास्थ्य, व्यवसाय र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युवा व्यवसायी सुशिल मोक्तान, दन्त रोग विशेषज्ञ डा. पुष्कर काफ्ले, मिडियाकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली, सामाजिक अभियन्ता सुरेन्द्र सेडाई लगायतले समाज रूपान्तरण, सरसफाईको महत्व, नागरिक जिम्मेवारी तथा मानवीय मूल्यहरूलाई समेटेका सिर्जनात्मक रचना वाचन गरेका थिए। उपस्थित दर्शकहरूले कविता, गजल र सन्देशमूलक रचनाहरूलाई अत्यन्तै रुचिपूर्वक सुनेका थिए।

कार्यक्रमकै आकर्षणको रूपमा उत्कृष्ट रचना प्रस्तुत गर्ने माईती लिक्विड डिसवासका सञ्चालक तथा युवा व्यवसायी सुशिल मोक्तान लाई सामाजिक अभियन्ता नेत्र बिष्ट ले दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मान ग्रहण गर्दै मोक्तानले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताए।

कार्यक्रममा प्रदान गरिएको पुरस्कारको व्यवस्था ॐ बुद्ध डेन्टल प्रा.लि., बालाजु बाइपास ले गरेको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले अभियानलाई निरन्तर सहयोग गर्दै आएको आयोजकहरूले बताएका छन्।

यसैबीच, सामाजिक अभियन्ता तथा विद्यार्थी सुन्दर खनाल ले सडक, सार्वजनिक स्थल तथा चक्रपथ क्षेत्र वरपर जथाभावी फोहोर नगर्न नागरिकहरूलाई आग्रह गरे। उनले “सरसफाई सरकारको मात्र जिम्मेवारी होइन, हरेक नागरिकको दैनिकी बन्नुपर्छ” भन्ने सन्देश दिए।

कार्यक्रमको मिडिया संयोजन सामाजिक अभियन्ता लिला खनाल ले गरेकी थिइन्। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

त्यसैगरी, अघिल्लो हप्ता सञ्चालन गरिएको फोहोर संकलन प्रतियोगिता का विजेताहरूलाई के.पि. फोटो स्टुडियो, काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क को तर्फबाट फोटोसहितको फ्रेम र मायाको चिनो प्रदान गरिएको थियो। यसले स्वयंसेवी अभियानमा सक्रिय सहभागीहरूलाई थप हौसला मिलेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा फोहोरमैला व्यवस्थापन कम्पनिको तर्फबाट हिमालयन वातावरण संरक्षण प्रा.लि.को सकृय सहभागिता रहेको थियो ।

कार्यक्रममा चाबहिलबाट सहभागी भएका सामाजिक अभियन्ता पुण्यरत्न बज्राचार्य ले यस्ता अभियानले समाजमा सकारात्मक सोच, अनुशासन र उत्तरदायित्वको भावना विकास गर्ने बताए। उनका अनुसार सरसफाई र साहित्यको संयोजनले समाजलाई केवल सफा मात्र बनाउँदैन, चेतनशील पनि बनाउँछ।

करिब एक दशकदेखि निरन्तर चलिरहेको चक्रपथ सरसफाई महाअभियानले आज केवल सडक सफा गर्ने अभियानको सीमाभन्दा माथि उठेर सामाजिक जागरण, वातावरणीय चेतना र सांस्कृतिक रूपान्तरणको आन्दोलनको रूप लिइसकेको छ। हरेक शनिबार बिहान झाडु बोकेर निस्कने अभियन्ताहरूले समाजलाई एउटा गहिरो सन्देश दिइरहेका छन्—“परिवर्तन अरूले होइन, आफैँबाट सुरु गर्नुपर्छ।”