२ जेष्ठ २०८३, शनिबार

फोहोर उठाउँदै समाजलाई सन्देश : चक्रपथमा अभियन्ताहरुको प्रेरणादायी प्रतिस्पर्धा

काठमाडौं । सडकमा छरिएको फोहोर उठाउँदै जब अभियन्ताहरु एकअर्कासँग प्रतिस्पर्धामा उत्रिए, त्यहाँ केवल प्रतियोगिता मात्र थिएन— समाजलाई जिम्मेवार बन्ने प्रेरणा पनि थियो । चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ताको अवसरमा आयोजना गरिएको फोहोर संकलन प्रतियोगिता उत्साह, सामाजिक एकता र जनचेतनाले भरिएको विशेष कार्यक्रमका रुपमा सम्पन्न भएको छ ।

वातावरण संरक्षण र स्वच्छ समाज निर्माणको उद्देश्यसहित आयोजित प्रतियोगितामा १२ जना अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । फोहोर संकलनमा उत्कृष्ट प्रदर्शन गर्दै हिमालयन वातावरण प्रा.लि.का विनोद गिरी प्रथम, बिनायक फोहोर व्यवस्थापन प्रा.लि.का सतिश कुमार द्वितीय तथा चक्रपथ सरसफाई महाअभियानकी अभियन्ता दिपिका खनाल तृतीय भएका थिए ।

विजेताहरुलाई खुसी इन्डष्ट्रिज नेपालको “माईती लिक्विड डिसवास” को तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो । साथै ॐ बुद्ध डेन्टल प्रा.लि., बालाजु बाइपासले समेत विशेष उपहारको व्यवस्था गरेको थियो । कार्यक्रममा प्रथम स्थान हासिल गरेका विनोद गिरीलाई एक पटकका लागि निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा प्रदान गरिने घोषणा गरिएको थियो ।

कार्यक्रममा सहभागी अभियन्ताहरुलाई खुसी डेरी उद्योगको तर्फबाट सामाजिक अभियन्ता ध्रुव तिवारीले शुद्ध मोही उपलब्ध गराएका थिए भने कलंकी निवासी दिक्षा थापाले पिउने पानीको व्यवस्था गरेर अभियानमा सहयोग पुर्‍याएकी थिइन् ।

ग्रीन सिटी हस्पिटल, बसुन्धारा कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो । त्यस्तै तुफान न्यूज डटकम, राष्ट्रिय खबर डटकम, नेपाली मिडिया अनलाइन टिभी, बीएमएन न्यूज, मिसन भण्डाफोर, रोज नेपाल डटकम र साराखबर डटकमले अभियानलाई प्रचारप्रसार र जनचेतनामूलक समाचारमार्फत सहयोग गरेका थिए ।

प्रतियोगिताको निर्णयक मण्डलमा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन, ओम विकास निरौला तथा सञ्चारकर्मी लोकेन्द्र राउत रहेका थिए । कार्यक्रममा स्वयंसेवकको रुपमा सक्रिय अभियन्ता जित बहादुर हमालसँगै डा. पुष्कर काफ्ले, पुण्य रत्न बज्राचार्य, सुरेन्द्र सेडाई, गोपाल थापा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । मिडिया संयोजनको जिम्मेवारी सक्रिय अभियन्ता लिला खनालले सम्हालेकी थिइन् ।

कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डिबी पराजुली, राष्ट्रिय गायक तिलक बस्नेत तथा युवा अभियन्ता सुन्दर खनालले गरेका थिए । कार्यक्रममा बिनायक फोहोर मैला व्यवस्थापन प्रा.लि., हिमालयन वातावरण संरक्षण प्रा.लि. तथा नेप्सेम्याक महाराजगञ्ज शाखाको समेत सक्रिय सहभागिता रहेको थियो ।

यसैबीच, केपी फोटो स्टुडियो बसपार्कले प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई फोटोसहितको आकर्षक फ्रेम उपलब्ध गराउने घोषणा गरेको छ ।

कार्यक्रमले फेरि एकपटक प्रमाणित गरेको छ— सरसफाई केवल अभियान होइन, सभ्य समाज निर्माणको आधार हो ।