काठमाडौ :राष्ट्रिय परिक्षा वाेर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गरेर परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।त्यस्तै २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् ।सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।
