काठमाडौं । विश्वभर बढ्दै गएको द्वन्द्व, हिंसा र युद्धका कारण मानव समाज गम्भीर चिन्ता, भय र पीडामा बाँचिरहेको वर्तमान सन्दर्भमा शान्तिको सन्देश फैलाउने उद्देश्यले नेपालमा एक महत्वपूर्ण अभियान सञ्चालन हुने भएको छ। महासिद्ध पिस स्यान्क्चुअरीको आयोजनामा “शान्तिका लागि साइकल यात्रा” नामक विशेष कार्यक्रम वैशाख १५ गतेदेखि सुरु भई वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुने भएको हो।
कार्यक्रमका परिकल्पनाकार तथा संस्थापक श्री श्याल्पा रिन्पोछेले विश्वमा बढ्दो अशान्तिको मूल कारण मानिसभित्रको अज्ञानता र असन्तुलित चेतनालाई मान्दै त्यसको समाधान करुणा, प्रज्ञा र आन्तरिक शान्तिको विकासमा रहेको बताउनुभएको छ। उहाँका अनुसार “शान्ति कुनै बाह्य वस्तु होइन, यो प्रत्येक व्यक्तिको अन्तरमनबाट सुरु हुन्छ, र त्यसैको विस्तार समाज र विश्वसम्म पुग्छ।” यही सन्देशलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप यो साइकल यात्रा आयोजना गरिएको हो।
काठमाडौंबाट सुरु हुने यस यात्रामा १०८ जना अनुशासित तथा प्रतिबद्ध साइकल यात्रीहरूको सहभागिता रहनेछ। यात्राको पहिलो दिन स्वयम्भूबाट सुरु भई हेटौंडामा विश्राम गरिनेछ। दोस्रो दिन हेटौंडाबाट नारायणघाट हुँदै नवलपुरको रजहर पुगिनेछ भने तेस्रो दिन रजहरबाट कावासोती, दाउन्ने, बर्दघाट हुँदै भैरहवा पुगिनेछ। अन्तिम दिन बिहानै भैरहवाबाट प्रस्थान गरी विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि लुम्बिनी पुगेर यात्रा समापन गरिनेछ।
यस यात्रामा मुख्य सहभागीहरूबाहेक बाटोभरि विभिन्न स्थानबाट सयौंको संख्यामा अन्य साइकल यात्रीहरू, शान्तिप्रेमी नागरिक तथा श्रद्धालुहरू पनि जोडिने अपेक्षा गरिएको छ। यसले कार्यक्रमलाई अझ व्यापक र जनमुखी बनाउने विश्वास आयोजकको छ।
बुद्धको जन्मभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउनु नेपालीहरूको नैतिक दायित्व भएको उल्लेख गर्दै आयोजकले यस अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण पहलका रूपमा लिएको छ। बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा भव्य कार्यक्रम आयोजना गरिनेछ, जहाँ मायादेवी मन्दिर दर्शन, बोधि वृक्षको छायाँमा सामूहिक ध्यान तथा विश्व शान्तिका लागि विशेष प्रार्थना गरिनेछ। साथै हजारौं दीप प्रज्वलन गरी करुणा र शान्तिका प्रतीक भगवान बुद्धप्रति कृतज्ञता अर्पण गरिनेछ।
यस विशेष अवसरमा सम्माननीय प्रधानमन्त्री, माननीय पर्यटन मन्त्री, नेपाल पर्यटन बोर्डका पदाधिकारी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई पनि निमन्त्रणा गरिएको छ। नेपाल पर्यटन बोर्डले कार्यक्रमलाई पूर्ण समर्थन गर्ने जनाएको छ भने एनसेल कम्पनीले आधिकारिक प्रायोजकको रूपमा साथ दिएको छ। साथै विभिन्न संघसंस्था, होटल व्यवसायी तथा स्थानीय समुदायले पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
साइकल यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले रु २,५०० शुल्क तिरेर दर्ता गर्न सक्नेछन्। सहभागीहरूका लागि सम्पूर्ण यात्राभरि खानपिन, बसोबास तथा आवश्यक व्यवस्थापन आयोजक टिमले गर्ने जनाएको छ। यसले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहज रूपमा अभियानमा जोडिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको वातावरण संरक्षण र दिगो जीवनशैलीप्रति जनचेतना फैलाउनु पनि हो। “गो ग्रीन” नारासहित सञ्चालन हुने यस अभियानले कार्बन फुटप्रिन्ट घटाउने, प्रदूषण न्यूनिकरण गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने सन्देश समेत प्रवाह गर्नेछ।
बुद्ध पूर्णिमाको भोलिपल्ट वैशाख १९ गते बिहान विशेष ध्यान कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि तेन्जिन रिन्पोछेद्वारा लिखित “The Path to Perfect Freedom” पुस्तक तथा यसको नेपाली अनुवाद “पूर्ण मुक्तिको मार्ग” को विमोचन कार्यक्रम समेत आयोजना गरिनेछ। उक्त पुस्तकहरू कार्यक्रममा विशेष छुटमा उपलब्ध गराइने जनाइएको छ।
करिब चार दशकदेखि विश्वभर शान्ति र बौद्ध शिक्षाको प्रचारप्रसारमा सक्रिय रहनुभएका श्री श्याल्पा रिन्पोछेले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल, लुम्बिनी र बुद्धको सन्देशलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालन हुने यो अभियानले विश्वभर शान्तिको नयाँ सन्देश फैलाउने विश्वास लिइएको छ।
रिन्पोछेले सबैलाई यस ऐतिहासिक अभियानमा सहभागी भई शान्तिको पक्षमा एकजुट हुन आह्वान गर्दै भन्नुभएको छ, “यी अत्यन्त पवित्र र महत्वपूर्ण क्षणहरूमा तपाईंहरूको सहभागिता हाम्रो लागि सम्मानको विषय हुनेछ। आउनुहोस्, हामी शान्तिलाई युद्धभन्दा अझ शक्तिशाली, प्रभावकारी र आकर्षक बनाऔं।”
विश्व शान्तिको सन्देश बोकेको यो साइकल यात्रा केवल एउटा कार्यक्रम मात्र नभई मानवता, करुणा र सहअस्तित्वको अभियानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

