१२ बैशाख २०८३, शनिबार

सुकुमबासी आफैँ बस्ती छाड्दै

काठमाडौं :सरकारले शनिबार काठमाडौँ महानगरपालिकाभित्रका थापाथली र गैह्रीगाउँका सुकुमबासी बस्तीहरू शान्तिपूर्वक खाली गराएको छ ।

यता भक्तपुरको मनोहरा क्षेत्रमा भने भोलि आइतबारदेखि डोजर लगाएर बस्ती खाली गराउने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छाडिसकेका छन् । बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेका छन् ।

यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

भक्तपुरको मनोहरा क्षेत्रमा हालसम्म सरकारले डोजर चलाएको छैन । तर बासिन्दाहरूले सामान ओसार्ने कार्य जारी राखेकाले अधिकांश घरटहरा खाली भइसकेका छन् । भोलि आइतबारदेखि भने यस क्षेत्रमा डोजर लगाएर बस्ती पूर्ण रूपमा खाली गराउने सरकारको तयारी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

यसैबिच काठमाडौँ महानगरपालिकाले आज खाली गराएका थापाथली र गैह्रीगाउँका सुकुमबासी बस्तीहरूमा कतैबाट पनि अवरोध नभएको जनाएको छ । महानगरले शान्तिपूर्वक बस्ती खाली गराएर सुकुमबासीहरूलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको जानकारी दिएको छ ।