काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घद्वारा आयोजित राष्ट्रिय रेफ्री सेमिनार कार्यक्रम सूर्यबहादुर बुढाथोकीको सभापतित्व तथा अध्यक्षतामा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य भानबहादुर चन्दको गरिमामय उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा महासङ्घका पूर्व अध्यक्ष दमन बस्नेत, जगत सिंह धामी तथा जगत टमाटाको विशेष उपस्थिति कार्यक्रमलाई थप गौरवमय बनाएको थियो।
अतिथिका रूपमा लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य कल्पना आचार्य, महासङ्घका पदाधिकारी सदस्यहरू लगायत विशिष्ट व्यक्तित्वहरूको सम्माननीय उपस्थिति रहेको थियो।
साथै विभिन्न सङ्घका अध्यक्षहरू, ब्रान्च प्रमुखहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू, खेलाडी वर्ग, गुरुजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य, सभ्य, सफल र उपलब्धिमूलक बनाएको छ।
उक्त कार्यक्रममा प्रशिक्षकहरू प्रेमबहादुर तामाङ, राजु तुलादर तथा सुभाष काफ्लेले सहभागीहरूलाई महत्वपूर्ण प्रशिक्षण, सीप विकास तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो।
साथै राष्ट्रिय खेलकुद परिषदका जयमान घिसिङ तथा राम बमजनले पनि कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक राजेश्वर स्थापितले Sport Science सम्बन्धी विशेष कक्षा सञ्चालन गरी सहभागीहरूलाई ज्ञानमूलक तथा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।
उक्त रेफ्री सेमिनारमा कुल १३७ जना सहभागी भएका थिए, जुन महासङ्घको गतिविधिमध्ये अहिलेसम्मकै सर्वाधिक सहभागितासहित सम्पन्न भएको हो।
सहभागी गुरुजन, प्रशिक्षक तथा खेलाडीहरूले प्रशिक्षणको स्तर अत्यन्त शुद्ध, व्यवस्थित र प्रभावकारी रहेको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको छ। साथै उनीहरूको अनुभवअनुसार यस सेमिनारले रेफ्री प्रणाली, नियम–कानुन, व्यवहारिक ज्ञान तथा खेल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रममा प्रमुख अतिथिबाट सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले लाइसेन्स प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउँदै सबै सहभागीहरूलाई योग्यता तथा श्रेणी (क्याटेगोरी) अनुसार लाइसेन्स प्रदान गरिने व्यवस्था रहेको बताउनुभएको थियो।
साथै कार्यक्रमभर विभिन्न रोचक, ज्ञानवर्द्धक तथा प्रेरणादायी गतिविधिहरू सञ्चालन भई सहभागीहरूमा उत्साह, ऊर्जा र आत्मविश्वास अभिवृद्धि भएको थियो, जसले कार्यक्रमलाई थप सफल, प्रभावकारी र उपलब्धिमूलक बनाएको छ।
