४ चैत्र २०८२, बुधबार

अन्तर्राष्ट्रिय सहकार्यले विद्यालयमा नयाँ ऊर्जा: पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने विदेशी विद्यार्थीहरू सम्मानित

सिन्धुपाल्चोक — स्थानीय शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको प्रभावकारी उदाहरण प्रस्तुत गर्दै, Project Nepal मार्फत जापानस्थित UWC ISAK Japan मा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरूले श्री शारदा माध्यमिक विद्यालयको पुस्तकालय व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्।

उक्त सहयोग कार्यक्रम अन्तर्गत Lola Ruth Dunton, Wong Chi Ching Janice, Juana Vizcaino Martin, Giosue Calocero तथा Ngimasangmo Sherpa ले विद्यालयको पुस्तकालयलाई व्यवस्थित, आकर्षक र अध्ययनमैत्री बनाउन उल्लेखनीय योगदान दिएका छन्। उनीहरूले पुस्तकहरूको वर्गीकरण, अभिलेखीकरण, व्यवस्थापन प्रणाली सुधार तथा विद्यार्थीमैत्री अध्ययन वातावरण निर्माणमा सक्रिय भूमिका खेलेका थिए।

यस कार्यक्रमलाई Project Nepal को समन्वय तथा Sowers Action Nepal का कोअर्डिनेटर Karma Sherpa को नेतृत्वमा सफलतापूर्वक सञ्चालन गरिएको हो।

उक्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ। पुस्तकालय जस्तो शैक्षिक आधारभूत संरचनाको सुदृढीकरणले विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, अनुसन्धान क्षमता वृद्धि तथा सिर्जनात्मक सोचको विस्तारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश)ले बताए ।

कार्यक्रमको समापन अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष Ambar Bahadur Shrestha सहित बाह्रबिसे नगरपालिका वडा नं. ३, ४ र ८ का वडा अध्यक्षज्युहरूको उपस्थितिमा सहयोग पुर्‍याउने सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थी तथा संलग्न व्यक्तित्वहरूलाई सम्मान–पत्र प्रदान गर्दै औपचारिक रूपमा विदाइ गरिएको थियो।

सम्मान तथा विदाइ कार्यक्रम भावुक र प्रेरणादायी बनेको थियो, जहाँ स्थानीय समुदायले विदेशी विद्यार्थीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै यस्ता सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

साथै, परियोजनाको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने Project Coordinator Karma Sherpa, कार्यक्रम सफल बनाउन बिशेष भुमिका निर्वाहा गर्नुहुने समाजसेवी नर्बु शेर्पा लाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रम सफल बनाउन बाह्रबिसे नगरपालिकाको समेत महत्वपुर्ण भुमिका रहेको थियो ।

यस प्रकारका अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यहरूले स्थानीय विद्यालयहरूमा नयाँ सोच, सीप र दृष्टिकोण भित्र्याउँदै शिक्षा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।