सुर्खेत :विरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधवार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
२३ फागुन शनिबार बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।
