काठमाडौँ / निजी स्वास्थ्य क्षेत्रमा प्रभावशाली उपस्थिति बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेतृत्वको निरन्तरता कायम भएको छ। व्यवस्थापन क्षमता, आर्थिक सुधार र दीर्घकालीन रणनीतिक दृष्टिका कारण चर्चामा रहेका इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ।
बिहीबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाले उहाँलाई पुनः चार वर्षका लागि जिम्मेवारी सुम्पिएको हो। स्थापनाकालदेखि नै अस्पतालको नेतृत्व सम्हाल्दै आउनुभएका कुँवरको पुनर्निर्वाचनलाई स्वास्थ्य क्षेत्रभित्र ‘स्थायित्व र रणनीतिक निरन्तरताको संकेत’ का रूपमा हेरिएको छ।
चौँथो कार्यकालका लागि निर्वाचित भएपछि अध्यक्ष कुँवरले अस्पताललाई ‘विश्वस्तरीय उपचार सेवाको गन्तव्य’ बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले सेवा गुणस्तरमा थप सुधार, अत्याधुनिक उपकरण विस्तार, विशेषज्ञ चिकित्सकको संख्या वृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने योजना अघि सारेको जानकारी दिइएको छ।
साधारणसभाबाट सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजय राजभण्डारी, डा. सुनिलराम बैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा. अवतार न्यौपानेले जानकारी दिनुभयो।
वि.सं. २०६९ मा टोखा नगरपालिका–८, धापासीमा स्थापना भएको ग्राण्डी २८ रोपनी क्षेत्रफलमा फैलिएको २०० शैयाको सुविधा सम्पन्न अस्पताल हो। झण्डै एक हजार चिकित्सक, नर्स तथा कर्मचारी कार्यरत रहेको यस संस्थाले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
नेतृत्वको निरन्तरतासँगै अब सबैको नजर चौँथो कार्यकालमा ग्राण्डीले कस्तो नयाँ उचाइ हासिल गर्छ भन्ने विषयमा केन्द्रित भएको छ। निजी स्वास्थ्य क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा यो पुनर्निर्वाचनले दूरगामी प्रभाव पार्ने विश्लेषण सुरु भइसकेको छ।

