काठमाडौं । चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस निकट युवाहरूको सक्रियतामा काठमाडौं क्षेत्र नं. १० मा आयोजित “बृहत तरुण तथा जेन(जी) संवाद कार्यक्रम” ले चुनावी माहोललाई नयाँ आयाम दिएको छ। युवा पुस्तालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले केवल औपचारिक सभा मात्र होइन, प्रत्यक्ष बहस र नीतिगत प्रतिवद्धताको मञ्चका रूपमा आफूलाई स्थापित गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सभापतित्व नेपाल तरुण दल क्षेत्र नं. १० का अध्यक्ष तथा महासमिति सदस्य इश्वर लामाले गर्नुभएको थियो। उहाँले उद्घाटन मन्तव्यमा स्पष्ट शब्दमा भन्नुभयो—“जेन(जी) पुस्ता केवल सामाजिक सञ्जालमा सीमित जमात होइन, अब नीति निर्माणमा प्रत्यक्ष हस्तक्षेप गर्ने शक्ति हो।” युवाहरूलाई राजनीति प्रतिको वितृष्णा त्यागेर रचनात्मक हस्तक्षेप गर्न आह्वान गर्दै उहाँले क्षेत्र नं. १० लाई युवा–मैत्री निर्वाचन क्षेत्र बनाउने अभियान सुरु भएको घोषणा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेस का केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा क्षेत्र नं. १० का निवर्तमान सांसद राजेन्द्र कुमार केसी ले आफ्नो मन्तव्यमा लोकतन्त्रको सार युवा सहभागितामै निहित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको इतिहासका हरेक संवेदनशील मोडमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको छ। अबको चरण युवाको हातमा जिम्मेवारी सुम्पने समय हो।” निर्वाचनमा युवाको सक्रियता निर्णायक बन्ने दाबी गर्दै केसीले क्षेत्र नं. १० मा विकास र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता दोहोर्याउनुभयो।
कार्यक्रममा वागमती प्रदेश सभा सदस्य दिपेन्द्र आचार्य, वागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद पुकार महर्जन, प्रदेश सभा सदस्य यमुना श्रेष्ठ लगायतका नेताहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले युवा पुस्ताको राजनीतिक चेतना र सहभागितालाई स्वागतयोग्य कदम भन्दै आगामी निर्वाचनमा नीति र दृष्टिकोणका आधारमा मतदान गर्न आग्रह गरे।
स्थानीय तहका प्रमुखहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। घनश्याम गिरी (मेयर, चन्द्रागिरि नगरपालिका) र कृष्णमान डंगोल (मेयर, कीर्तिपुर नगरपालिका) ले स्थानीय तहमा युवामैत्री नीति र कार्यक्रमहरू अघि बढाइरहेको उल्लेख गर्दै संघीय र प्रदेश तहसँग सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमको सबैभन्दा आकर्षक पक्ष उम्मेदवारसँगको प्रत्यक्ष प्रश्न–उत्तर सत्र रह्यो। जेन(जी) समूहबाट संकलित प्रश्नहरू उम्मेदवारसमक्ष राखिएका थिए। बेरोजगारी, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, प्राविधिक शिक्षा विस्तार, डिजिटल पूर्वाधार, स्थानीय विकास र पारदर्शिताका विषयमा युवाहरूले धारिलो र स्पष्ट प्रश्न उठाएका थिए।
क्षेत्र नं. १० का उम्मेदवार हिमाल कार्की ले उठेका प्रश्नहरूको जवाफ दिँदै युवा लक्षित विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो। “रोजगार सिर्जना बिना समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो, “हामी स्थानीय तह, निजी क्षेत्र र शैक्षिक संस्थासँग सहकार्य गरेर सीप विकास केन्द्र स्थापना गर्ने योजना बनाउँदैछौं।” साथै, युवा उद्यमीका लागि सहुलियतपूर्ण ऋण, इनोभेसन हब र खेलकुद तथा सिर्जनात्मक क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, वडा सभापतिहरू, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र उल्लेख्य संख्यामा जेन(जी) युवाहरूको सहभागिता रहेको थियो। हलभित्रको उत्साह, प्रश्नहरूमा देखिएको आत्मविश्वास र नेताहरूको जवाफदेहिताले कार्यक्रमलाई सामान्य चुनावी सभाभन्दा फरक बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार काठमाडौं क्षेत्र नं. १० मा युवा मत निर्णायक बन्ने संकेत देखिएको छ। पछिल्लो समय सामाजिक सञ्जाल, रोजगारी र अवसरको मुद्दाले युवाहरूलाई संगठित बनाइरहेको सन्दर्भमा यस्तो संवाद कार्यक्रमले चुनावी एजेन्डालाई परम्परागत नाराबाट नीतिगत बहसतर्फ मोडेको टिप्पणी गरिएको छ।
समग्रमा, “बृहत तरुण तथा जेन(जी) संवाद कार्यक्रम” केवल एक राजनीतिक कार्यक्रम नभई पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ। चुनाव नजिकिँदै जाँदा युवा आवाजलाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिले काठमाडौं क्षेत्र नं. १० को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अब हेर्न बाँकी छ—युवाको यो उर्जा मतपेटिकासम्म कति प्रभावकारी रूपमा रूपान्तरण हुन्छ।

