२५ माघ २०८२, आईतवार

ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच MOU, कर्मचारी कल्याण र स्वास्थ्य सेवामा दीर्घकालीन सहकार्य

राजन थापा

काठमाडौं / सडकदेखि सदनसम्मका सबै वर्गका नागरिकका लागि उपचार सेवा प्रदान गर्दै आएको जनमैत्री अस्पतालका रूपमा परिचित ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउँदै कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्ने उद्देश्यका साथ गरिएको उक्त सम्झौताले दुवै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

यस सम्झौताअनुसार MV Dugar Group का कर्मचारीहरू तथा उनीहरूको परिवारलाई ॐ समाज डेण्टल अस्पतालमार्फत दन्त उपचार तथा अन्य स्वास्थ्य सेवामा विशेष छुट, सहुलियत तथा प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ।

सम्झौताले दन्त स्वास्थ्यसँग सम्बन्धित उपचार, परामर्श तथा आवश्यक सेवाहरूलाई सहज, सुलभ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। साथै MV Dugar Group ले आफ्ना कर्मचारीहरूलाई स्वास्थ्य सेवामा थप सुरक्षित तथा व्यवस्थित बनाउन ॐ समाज डेण्टल अस्पतालसँग दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

ॐ समाज डेण्टल अस्पतालले विगत लामो समयदेखि सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। विशेषगरी समाजका विपन्न, असहाय तथा सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर तथा दन्त उपचार कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले ‘सेवा नै धर्म हो’ भन्ने भावनासहित निरन्तर सेवा विस्तार गर्दै आएको बताइएको छ।

अस्पताललाई “सडकदेखि सदनसम्मका मानिसहरूका लागि उपचार गर्ने अस्पताल” का रूपमा पनि परिचित मानिन्छ। उक्त सम्झौता मार्फत दुवै पक्षले ब्रान्ड प्रवर्द्धन, कर्मचारी कल्याण कार्यक्रम, स्वास्थ्य सचेतना अभियान, तथा विभिन्न अवसरमा संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।

MOU अन्तर्गत भविष्यमा दन्त स्वास्थ्य सचेतना कार्यक्रम, नियमित स्वास्थ्य परीक्षण, गिफ्ट भौचर, सेवा प्याकेज तथा विशेष सहुलियतका कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावना पनि रहेको बताइएको छ। सम्झौतामा MV Dugar Group को तर्फबाट पब्लिक रिलेसन मेनेजर विश्वास नौपाने तथा ॐ समाज डेण्टल अस्पतालको तर्फबाट बनस्थली शाखा प्रमुख सबिना गुरुङ र अस्पतालका सञ्चालक समिति सदस्य तथा सामाजिक अभियन्ता राजन थापा ले हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रमका क्रममा बोल्दै सम्बन्धित पक्षहरूले यस्तो सहकार्यले कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने, संस्थागत सहकार्यलाई बलियो बनाउने र दुवै पक्षका लागि साझा उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन्। MV Dugar Group ले पनि आफ्ना कर्मचारीहरूको स्वास्थ्य तथा सेवा सुविधामा ध्यान दिँदै सामाजिक उत्तरदायित्वलाई महत्त्व दिने नीति अनुरूप स्वास्थ्य क्षेत्रमा सहकार्य अघि बढाएको जनाएको छ।

यता ॐ समाज डेण्टल अस्पतालले संस्थागत सहकार्यलाई निरन्तर विस्तार गर्दै अझ बढी नागरिकलाई गुणस्तरीय, सुलभ तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको स्पष्ट पारेको छ।

स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउँदै समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यका साथ गरिएको यो MOU ले निजी क्षेत्र र स्वास्थ्य संस्थाबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ। आगामी दिनमा दुवै संस्थाको संयुक्त प्रयासले जनस्वास्थ्य सेवा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।