नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आगामी माघ १४ गतेबाट १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ गर्दैछ । संघले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवका बारेमा केन्द्रित रहेर संघका कार्यसमिति सदस्य तथा महोत्सवका संयोजक उज्ज्वल जंग पराक्रम शाहसँगै गरिएको संक्षिप्त कुराकानी :
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पहिलो पटक ‘काठमाडौं महोत्सव’ आयोजना गर्न लागेको छ । महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
जेन जी आन्दोलन पछि निजी क्षेत्रको मनोबल केही खस्किएको छ । देशमा आर्थिक चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्नका लागि हामीले महोत्सव आयोजना गरेका हौं । यो महोत्सवको मुख्य उद्देश्य काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउनु हो । हामी स्थानीय उत्पादन, कला-संस्कृति र नवप्रवर्तनलाई एउटै थलोबाट प्रवर्द्धन गर्न चाहन्छौँ । विशेष गरी साना तथा घरेलु उद्योग र स्टार्टअपहरूलाई बजारसँग जोड्ने हाम्रो लक्ष्य छ ।
महोत्सवका मुख्य आकर्षणहरू केके रहन्छन् ?
महोत्सवमा करिब २०० वटा अत्याधुनिक व्यावसायिक स्टलहरू रहनेछन् । स्वदेशी औद्योगिक उत्पादन, हस्तकला, कृषि सामग्री र लत्ताकपडा, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट र सांस्कृतिक झाँकीहरू, चर्चित कलाकारहरूको कन्सर्ट र लाइभ म्युजिक लगायत महोत्सवको आकर्षण रहनेछ । निःशुल्क स्वास्थ्य शिविर, फोटोग्राफी स्पट र बालबालिकाका लागि किड–जोन पनि रहनेछ ।
कति अवलोकनकर्ता सहभागी हुने अपेक्षा गर्नुभएको छ ?
हामीले यो चार दिने महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरेका छौँ । यसमा सर्वसाधारणका साथै विद्यार्थी, उद्यमी, विदेशी पर्यटक र निर्यात व्यवसायीहरूको उपस्थिति रहनेछ ।
महोत्सवले स्थानीय अर्थतन्त्रमा कस्तो प्रभाव पार्ने विश्वास लिनुभएको छ ?
काठमाडौं महोत्सव केवल मेला मात्र नभई एउटा आर्थिक प्लेटफर्म हो । यसले नयाँ उद्यमीहरूलाई नेटवर्किङको अवसर दिन्छ, लगानीका नयाँ ढोका खोल्छ र रोजगारी सिर्जनामा समेत मद्दत पु¥याउँछ । बजारमा आएको सुस्ततालाई चिर्न यस्ता महोत्सवले ऊर्जा थप्ने हाम्रो विश्वास छ ।
प्रायोजन र प्रचार-प्रसारको तयारी कस्तो छ ?
हामीले ‘टाइटल स्पोन्सर’देखि विभिन्न श्रेणीमा प्रायोजनका लागि अवसरहरू खुल्ला गरेका छौँ । मिडिया प्रवद्र्धन, डिजिटल क्याम्पियन र होर्डिङ बोर्डहरू मार्फत देशभर यसको सन्देश पु¥याउने काम भइरहेको छ । सहभागी प्रदर्शकहरूले पनि डिजिटल र प्रिन्ट मिडिया मार्फत राम्रो एक्सपोजर पाउनेछन् ।
महोत्सव सफल बनाउन हालसम्म कुन कुन संस्थासँग सहकार्य गर्दै हुनुहुन्छ ?
महोत्सवलाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्दैछ । काठमाडौं महानगरपालिकाले पनि आयोजकमा रहेर महोत्सवलाई साथ दिएको छ । सहआयोजकमा राइजिङ नेपाल, प्रवद्र्धकमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल वितरक संघले साथ छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
काठमाडौं महोत्सव आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । यो नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले पहिलो पटक आयोजना गर्न लागेको बृहत् व्यापारिक मेला हो । महोत्सव सफल बनाउनका लागि सम्पूर्ण काठमाडौंबासी लगायत सरोकारवाला सबैलाई म बिनम्र अनुरोध गर्दछु ।
