११ पुष २०८२, शुक्रबार

ग्रिल तथा स्टिल व्यवसायी मित्रहरूको वनभोज कार्यक्रममा संगठनको नेतृत्व प्रति असन्तुष्टि व्यक्त

ग्रिल तथा स्टिल व्यवसायमा संलग्न व्यवसायी मित्रहरूको सहभागितामा बृहत् वनभोज तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम सामाजिक सद्भाव, वातावरण संरक्षण र संगठनात्मक विषयमा गम्भीर छलफलको मञ्चसमेत बनेको थियो।
कार्यक्रमको सुरुवात व्यवसायी मित्र स्वर्गीय मैनदिन सेखज्यूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। उहाँको तस्वीरमा माल्यार्पण तथा मैनबत्ती प्रज्वलन गरी मृत आत्माको चिरशान्तिको कामना गरियो। साथै शान्ति र स्वतन्त्रताको प्रतीकका रूपमा सलम्बुमाई मन्दिरमा सेतो परेवा उडाइएको थियो।
वातावरण संरक्षण र भावी पुस्ताका लागि अक्सिजन सुनिश्चित गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा व्यवसायसँगै सामाजिक उत्तरदायित्वप्रति ध्यान दिनुपर्ने कुरामा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमअन्तर्गत वनभोज तथा भेटघाट कार्यक्रमको औचित्य र सान्दर्भिकताबारे श्री कुमार कसजु श्रेष्ठज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले व्यवसायीबीच आपसी एकता, सहकार्य र संगठनको आवश्यकता विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै विष्णुकुमार श्रेष्ठज्यूले उपस्थित व्यवसायी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सो क्रममा उहाँले ग्रिल तथा स्टिल व्यवसाय सङ्घ, काठमाडौँ जिल्लाले कुनै प्रक्रिया पूरा नगरी, ग्रिल तथा स्टिल व्यवसायी संघ पूर्वी क्षेत्रीय समिति तथा १४ वटा इकाइलाई बिना छलफल विघटन गरिएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको थियो।
श्रेष्ठज्यूले संगठनभित्र लोकतान्त्रिक प्रक्रिया, आपसी छलफल र सहमतिलाई बेवास्ता गर्दै गरिएको निर्णयले व्यवसायीहरूको भावना आहत भएको बताउनुभयो। उहाँले यस्ता निर्णयले संगठनलाई कमजोर बनाउने भन्दै सरोकारवाला सबै पक्षबीच संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न आग्रह गर्नुभयो।
समग्रमा उक्त वनभोज कार्यक्रम व्यवसायीबीचको आत्मीयता, सामाजिक जिम्मेवारी र संगठनात्मक सचेतनाको सन्देश बोकेको कार्यक्रमका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा १२० जना व्यवसायीहरूको उत्साहजनक सहभागिता भएको थियो।