४ पुष २०८२, शुक्रबार

जाजरकोट “रमाइलो मेला र दरबार कप २०८२”को तयारी तिब्र

जाजरकोट :रमाइलो मेला २०८२ को अवसरमा आयोजना हुने “जाजरकोट दरबार कप २०८२” भलिबल प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ।खेलकुदमार्फत स्थानीय युवालाई प्रोत्साहन गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रमाइलो मेला मुल समितिका संयोजक जनक केसीले बताए ।

केसीका अनुसार प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुने टिमले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क १० हजार तोकिएको छ। प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिने संयोजक केसीले बताए । यस्तै बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्विक, मिडियम ब्लकर र राइजिङ स्टारलाई जनही ३ हजार पुरस्कार राखिएको छ। बेस्ट लिबेरो र बेस्ट म्यानेजरलाई आकर्षक उपहार प्रदान गरिनेछ। उनले जिल्लाभित्र तथा बाहिरका भलिबल टिमहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेका छन्। केसीले सामाजिक सञ्जाल मार्फत सबैलाई खेलकुदमा सहभागी हुन आव्हान गरिएका छन्। प्रत्येक वर्ष पुस महिनाकाे १० देखि १५ गते सम्म जाजरकोट सदरमुकाम खलंगामा रमाइलो मेला लाग्छ।