काठमाडौं :तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् ।
व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
तीजको पहिलो दिन सोमबार दर खाएकाहरुले आज मंगलबार निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज पर्व समापन हुन्छ ।