२४ श्रावण २०८२, शनिबार

बाल यौन दुरूपयोग मुद्दामा कसुरदार ठहर भएका एक फरार प्रतिवादी पक्राउ

काठमाडौँ । सुनसरी जिल्ला  बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला मंगलबार अपराह्न विराटनगरस्थित महेन्द्र चोकबाट पक्राउ परेका हुन्।  बाल यौन दुरूपयोग मुद्दामा कसुरदार ठहर भएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले दिएको जानकारी अनुसार अमेरिकाको टेक्सासमा बस्दै आएका कोइरालालाई अदालतले कसुरदार ठहर गरेको थियो।

 

बाल यौन दुरूपयोग मुद्दामा उनीविरूद्धको मुद्दामा असार ३२ मा सुनसरी जिल्ला अदालतले अन्तिम आदेश दिएको थियो। कोइरालामाथि एक जना ११ वर्षीया नाबालिकामाथि दुर्व्यवहार गरेको मुद्दा थियो।

अदालतले उनलाई कसुरदार ठहर गरेर २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

 

अहिले उनलाई सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको र म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।

यही मुद्दामा गएको वैशाखमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए।