काठमाडौं । कपिलवस्तुमा पछिल्ला केही वर्षयता वैवाहिक सम्बन्ध टुट्ने क्रम तीव्र रूपमा बढेको छ । विशेषतः नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्धविच्छेदको निवेदन दिन पाउने प्रावधानले अदालतमा मुद्दा दर्ता हुने दर झन् उकालो लागेको देखिएको छ ।
जिल्ला अदालत कपिलवस्तुको तथ्यांक अनुसार, विगत ६ वर्षको अवधिमा मात्रै १ हजार ९७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ४९३ मुद्दा दर्ता भएका छन्, जसमा ३८७ नयाँ र १०६ अघिल्लो वर्षबाट सारिएका थिए । सोही अवधिमा ३८२ मुद्दाको टुंगो लागिसकेको अदालतले जनाएको छ । त्यसअघि, आर्थिक वर्ष २०८०/०८१ मा ४५० मुद्दा दर्ता भएका थिए भने तीमध्ये ३४४ मुद्दा फछ्र्योट भएका थिए । बाँकी १०६ मुद्दा अर्को वर्षमा सारिएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा कुल ३४५, आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२, आव २०७७/०७८ मा २६८ र २०७६/०७७ मा १७१ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा दर्ता भएका मुद्दाहरूको विश्लेषण गर्दा १८ देखि ३० वर्ष उमेर समूहका युवा—युवतीहरूले सबैभन्दा धेरै सम्बन्धविच्छेदका निवेदन दिने गरेको पाइन्छ । कलिलो उमेरमै प्रेम विवाह गर्ने तर वैवाहिक जीवनलाई सन्तुलित रूपमा अगाडि बढाउन नसक्नु मुख्य कारण भएको अदालत स्रोतको भनाइ छ।
जिल्ला अदालतका एक अधिकृतका अनुसार, भावनात्मक अपरिपक्वता, घरायसी खटपट, आपसी समझदारीको अभाव, तथा पारिवारिक दबाब प्रमुख कारणहरू हुन् जसले विवाह टुटाउने अवस्था सिर्जना गरिरहेका छन् ।
सामाजिक संघसंस्थाहरूले सम्बन्धविच्छेदको यो बढ्दो दरले दीर्घकालीन सामाजिक असर पार्ने चेतावनी दिएका छन् । मानसिक स्वास्थ्यमा देखिने असर, बालबालिकाको संरक्षण र पालनपोषणमा पर्ने कठिनाइ, र सामाजिक संरचनामा आउने कमजोरी दीर्घकालीन चुनौतीका रूपमा देखिएको छ ।