सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसका संचालक सहित पाँच जनालाई पक्राउ गरेकाे छ ।
मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको हाे ।प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार, एक गोप्य सूचनाको आधारमा प्रहरीले यो सञ्जाल तोड्न सफल भएको हो ।
शाहीले भने, ’यो एक सङ्गठित अपराधको सञ्जाल हो । हामीले यसको गहिराइसम्म पुगेर अनुसन्धान गरिरहेका छौँ। मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो ।’
यसरी खुल्यो रहस्य
प्रहरीका अनुसार यो अपरेसनको सुरुवात सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट भएको थियो । प्रहरीले नक्कली नोट चलाउँदै गरेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो ।
उनको बयानको आधारमा प्रहरीले सोही दिन जाजरकोट कुशे गाउँपालिका–५ कै ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मारी १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गर्यो ।
अनुसन्धानलाई थप अगाडि बढाउँदै प्रहरीले जाजरकोटकै कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोग्राम ३७२ ग्राम अफिमजस्तो देखिने पदार्थसहित पक्राउ गर्यो ।
मिडिया हाउसमा छापा, नोट छाप्ने मेसिन बरामद
यही गिरोहको अनुसन्धान गर्ने क्रममा प्रहरी टोली बाँकेको कोहलपुरसम्म पुग्यो ।कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको “जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको थियो ।
कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारी र एक अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिडिया हाउसबाट प्रहरीले थप ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिमजस्तो देखिने पदार्थ, र नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागुऔषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
यो घटनाले अपराधका नयाँ शैलीहरू र त्यसलाई ढाकछोप गर्न अपनाइने तरिकाहरूलाई सतहमा ल्याइदिएको प्रहरी प्रमुख शाहीले बताए ।
पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारवारी उद्योगमा मुद्दा चलाउने तयारी रहेको शाहीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले झण्डै दुई लाख रुपैयाँ सक्कली नोटसँग साटिसकेकाले कारोवार गर्दा सचेत रहन प्रहरी उपरीक्षक शाहीले अनुरोध गरेका छन् ।
ति नक्कली नाेटहरूमा अफिम खरिदका लागि व्यापारीहरूलाइ दिएकाे र प्रायः सुर्खेत, जाजरकाेट जिल्लाहरू ती नाेट बाडिएकाे पक्राउ परेकाहरूले बताएकाे प्रहरीकाे भनाइ छ । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई तीव्र बनाएको छ ।
पक्राउ पर्नेहरू:
दिलमाया सिंह ठकुरी, २२ वर्ष, जाजरकोट
राम बहादुर सिंह, ३३ वर्ष, जाजरकोट
कृष्ण बहादुर वली, ३५ वर्ष, जाजरकोट
प्रेम बहादुर वि.क., ३८ वर्ष, जाजरकोट
मन बहादुर सहकारी, ३४ वर्ष, कालिकोट (जनगर्जन नेटवर्क प्रा.लि.का सञ्चालक)