१३ असार २०८२, शुक्रबार

बारेकाेट गाउपालिका जाजरकोटले वार्षिक उपलब्धि सार्वजनिक

जाजरकोट :जाजरकोटको बारेकोट गाउँपालिकाले आफूले गरेका वार्षिक काम सार्वजानिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ८ हजार मिटर सडक निर्माण गरेको बताए,४ हजार ५०० मिटर स्तरोन्नत्ती गरिएको र २८० मिटर आरसीसी ढलान गरिएको बताएको छ । ८ सय मिटर सडक मेसिनरी वाल, ३३० वटा ग्याविन जाली, पलम कङक्रिट स्ट्रक्चर ५०० मिटर, सडक नाली ३५०० मिटर, निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ वटा २ कोठे भवन निर्माण गरिएको छ । बारेकोट गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको समेत पालिकाले जनाएको छ । अलग मानव अलग पशुघर निर्माण गरेर १२४ जना कृषकलाई भैंसी पालन सम्बन्धी तालिम प्रदान गरिएको जानकारी गराएको छ । आ.व. २०८१/०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार चालु आ.व.मा १२३ वटा अलग पशुघर निर्माण गरिएको छ ।

कृषि क्षेत्रमा के भए ?
गाउँपालिका अन्तर्गत करिब ६ हजार जना कृषकका पशु उपचार, भेडाबाख्रामा खोप, चौपाय र घरपालुवा जनावरमा रेबिजविरुद्धको खोप, पशु स्वास्थ्य शिविर, कार्यक्रममार्फत करिब ५० हजार भन्दा बढी पशु चौपायाको उपचार गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १ हजार ५२ जना सुनौला हजार दिने आमालाई अण्डा, कुखुरा, पोषण झोला र फिल्टर वितरण गरिएको अध्यक्ष गिरीले बताए । गाउँपालिका–१ स्वास्थ्य चौकी रामीडाँडा र आधारभूत अस्पताल लिम्सालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३३० जना रोजगारविहीन विपन्न नागरिकले रोजगारी पाएको पालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १८ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९ वटा २७ वटा कामका लागि पारिश्रमिकमा योजना सम्पन्न भएका छन् भने ३०४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको गाउँपालिकाको दावी छ । विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन भएको भूकम्पले क्षतिग्रस्त १७ वटा आयोना सम्पन्न भएका छन् भने करिब २ हजार ५०० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र गाउँपालिकाको साझेदारीमा भौतिक पूर्वाधारतर्फका १० वटा आयोजना सञ्चालन भएका छन् । जसबाट करिब ३०० जनाले रोजगारी प्राप्त गरेको पालिकाले जनाएको छ । सेवा प्रवाहलाई छिटो छरितो तथा विश्वसनीय बनाउन योजना व्यवस्थापन, वडा सिफारिस, न्यायिक व्यवस्थापन, अनलाइन राजस्व प्रणाली र अपाङ्ग परिचय पत्र तथा जेष्ठ नागरिक व्यवस्थापन सफ्टवेयरलाई पूर्ण रुपमा लागु गरिएको अध्यक्ष गिरीले बताए ।

खानेपानीतर्फ सम्पन्न योजना
खानेपानीतर्फ बारेकोट गाउँपालिका र हेल्भेटास नेपालको सहकार्यमा बारेकोट–३ पहाडा मुल्साममा ६१, बारेकोट–४ मैनामा ११९, बारेकोट–६ तासीमा १०८, बारेकोट–७ मा १६६ बारेकोट–१ मा १०४ गरी जम्मा ५५८ वटा खानेपानी धारा निर्माण भएको उनले बताए । मुख्यमन्त्री रोजगार आयोजनाअन्तर्गत बारेकोट–६ धुममा २९ र बारेकोट–९ रग्रेगममा ३१ वटा गरी ६० धारा निर्माण सम्पन्न गरिएको बताइएको छ । यसरी आ.व. २०८१/०८२ मा ६१८ वटा नयाँ खानेपानी धारा निर्माण सम्पन्न गरिएको बताइएको छ । गाउँपालिका भित्रका विभिन्न २८ वटा खानेपानी आयोजनाको मुहानबाट नमुना संकलन गरी पानी परीक्षण गरिएको छ ।

भूकम्प पीडितलाई सहयोग
जाजरकोट भूकम्पबाट क्षति भएका घरपरिवारलाई अस्थायी आवासको रुपमा नेपाल सरकारबाट ५ हजार १६९ र अन्य संघ संस्थाबाट २६० वटा अस्थायी आवास निर्माण भई दोस्रो किस्ता रकम भुक्तानी गरिएको छ । भूकम्पबाट प्रभावित ४ हजार ९५२ वटा निजी आवासको विस्तृत क्षति आंकलन सम्पन्न भएको छ । गाउँपालिका र प्रतिवद्ध–३ परियोजनाको सहयोग तथा सहजिकरणमा २४ जनालाई प्राथमिक उपचार तालिम र २४ जनालाई सामुदायिक खोज उद्दार तालिम प्रदान गरिएको छ ।

नेपालकै पहिलो, बारेकोट गाउँपालिकाको विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा, २०८१, निर्माण गरिएको छ । गउँपालिकामा यसै आ.व. देखि घर बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको अध्यक्ष गिरीले बताए । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन विवरण एकिन गरिएको जनाइएको छ ।