नवीन पल्लव, प्रबन्ध निर्देशक
माइन्ड प्लस प्रा.लि
सन्दर्भ एकः दुई बर्ष अघि बीर अस्पतालकी एक स्टाफ नर्सले कान्ति बाल अस्पतालमा कार्यरत ढाक्टर समेत रहेका प्रेमीको काठमाडौँको बोहोराटार स्थित घरमा झुण्डिएर आत्महत्या गरिन् । प्रहरीका अनुसार कारण थियो प्रेमीले उनीसंग विवाह गर्न नमान्नु रहेको थियो । प्रहरीले फेला पारेको सुसाइड नोटका अनुसार लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
सन्दर्भ दुईःवि.सं.२०७९ साल माघ महिनामा इलाम घर भएका प्रेम प्रसाद आचार्यले काठमाडौँ कै नयाँ बानेश्वरमा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए । आत्माहत्या गर्नुपर्नाको कारण २६ पृष्ठ लामो मृत्युपत्रमा उल्लेख गरेका थिए । आचार्यले आफ्नो मृत्युपत्रमा नेपालको वर्तमान अवस्था, देशमा बढ्दो भ्रष्टाचार, माफियातन्त्र, दलालतन्त्रका कारण केही गर्न नसकेको तथा कृषि व्यवसाय गर्न खोज्दा चर्चित कम्पनीहरूले समेत उधारो कारोबार गरेकोले बैंकको ऋण किस्ता र कर तिर्न नसकेर बाँच्न नसकेको उल्लेख गरेका थिए ।
सन्दर्भ तीनःकाठमाडौँ घट्टेकुलोमा घर भएका अर्जुन प्रसाद मैनालीले वि.सं.२०८० माघ महिनामा अमेरीकामा आत्मादाह गरे । उनले फेसवुक पेजमा श्रीमतिलाई सम्बोधन गरि लामो स्टाटस लेख्दैससुराली पक्षबाट भएको अपमान सहन नसकेर मृत्यु रोजेको उल्लेख गरेका थिए । उनको स्टाटसका कारण मृत्युको कारण पारिवारिक कलह नै भएको पाइन्छ । मैनाली दुइसय पटक भन्दा बढी रक्तदान गरेर चर्चा कमाएका व्यक्ति समेत थिए ।
उल्लिखित सन्दर्भहरू हाम्रो समाजमा घटेका पछिल्ला प्रतिनिधि घटनाहरू मात्र हुन् । मानसिक रूपमा हुने विक्षिप्तताका कारण मानिसले जीवन समाप्त गर्ने सम्म निर्णय लिन्छन् । यो अवस्था सम्भावना समाप्तिको त्यो अन्तिम अवस्था हो जहाँ मानिसले जीवनमा जीउने कुनै पनि सम्भावना बाँकी रहेको देख्दैन । पङ्क्तिकारले यस लेखमा उल्लेख गर्न खोजेका के हो भने मान्छे किन विक्षिप्त हुन्छ र यसका समाधानका उपायका सन्दर्भमा नै हो ।
विक्षिप्तता भन्नाले के बुझिन्छ?
मानव जीवनमा सोच, भावना र व्यवहारको सन्तुलन नै मानसिक स्वास्थ्यको परिचायक हो। तर जब व्यक्ति यो सन्तुलन गुमाउँछ, उसमा मानसिक विक्षिप्तता देखा पर्न सक्छ। नेपाली समाजमा ‘विक्षिप्तता’ लाई प्रायः ‘पागलपन’ का रूपमा बुझिन्छ, जुन गलत छ। विक्षिप्तता भनेको मानसिक असन्तुलनको गहिरो अवस्था हो, जसमा व्यक्ति वास्तविकतालाई यथार्थ रूपमा बुझ्न सक्दैन, सोच र व्यवहारमा असामान्यता देखिन्छ।
नेपालमा हाल मानसिक स्वास्थ्यलाई अझै पनि उपेक्षित विषय मानिन्छ। सामाजिक कलङ्क, अन्धविश्वास, वैज्ञानिक जानकारीको कमी र राज्यको नीतिगत कमजोरीका कारण लाखौँ मानिस मौन पीडामा छन्।
‘विक्षिप्तता’ शब्द संस्कृतको “विक्षिप्त” बाट आएको हो, जसको अर्थ हो — छरिएको, अस्थिर वा विग्रिएको अवस्था। मनोविज्ञानको भाषामा यसलाईSevere Mental Disorderभनिन्छ। जस्तै:
- सिजोफ्रेनिया (Schizophrenia) – भ्रम, आवाज सुन्ने, वास्तविकताबाट विचलन
- बाइपोलार डिसअर्डर (Bipolar Disorder) – अत्यधिक उतारचढावयुक्त मूड
- Psychotic Depression – गहिरो निराशा र आत्महत्या प्रवृत्ति
- Delusional Disorder – यथार्थ विपरीत अडिग विश्वास
यी विकारहरूमा व्यक्ति आफ्नो दैनिक जीवन, सामाजिक सम्बन्ध, र आत्मपहिचान गुमाउन सक्छ।
विक्षिप्तताका कारणहरू के हुन् ?
नेपालमा मानसिक स्वास्थ्यको अवस्थालाई हेर्दा विक्षिप्तता एक गम्भीर तर अझै पनि लुकेको सामाजिक समस्या हो। ‘विक्षिप्त’ भन्ने शब्दले धेरै अर्थ दिन्छ – व्यवहारमा असामान्यता, यथार्थको बोधमा भ्रम, वा आत्म नियन्त्रणको क्षमतामा कमी। तर यसको कारणहरू गहिरा छन् – जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक। यो लेखमा नेपालका केही यथार्थपरकतथ्याङ्क र कारणहरूलाई आधार बनाएर मानव विक्षिप्तताको संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ।
१. जैविक र आनुवंशिक कारणहरू
मानिसको मानसिक स्वास्थ्यमा उसको शरीरको जैविक संरचनाले ठूलो प्रभाव पार्छ। जस्तै, मस्तिष्कका न्यूरोट्रान्समिटरहरूको असन्तुलन (जस्तै डोपामिन र सिरोटोनिन), हर्मोनको गडबडी, वा आनुवंशिक रूपमा परिवारमा देखिएको मानसिक रोगहरूको इतिहासले व्यक्तिमा विक्षिप्तताको खतरा बढाउँछ। नेपालमा अझैपनि यस्ता समस्याहरू पहिचान गर्न कठिन छ किनभने आवश्यक उपकरण र विशेषज्ञहरूको अभाव छ।
२. बाल्यकालको मानसिक आघात
नेपालका बालबालिकामाथि हुने घरेलु हिंसा, बालश्रम, यौन हिंसा, र शिक्षा तथा स्नेहको अभावले बाल्यकालमै मानसिक समस्या जन्मिन्छ। ट्रमाको असर दीर्घकालीन हुन्छ। जस्तै, द्वन्द्वकालमा अपहरणमा परेका बालकहरू, वा बाबुआमाको गाली र कुटपिट सहनु परेका बालबालिकामा PTSDको लक्षण देखा पर्ने सम्भावना उच्च हुन्छ।
आघातका प्रमुख रूपहरू
शारीरिक दुव्र्यवहार – कुटपिट, कठोर अनुशासन, अनावश्यक शारीरिक सजाय।
भावनात्मक उपेक्षा – माया, प्रेम, सुरक्षाको अभाव।
यौन दुर्व्यवहार – बाल यौन शोषण, अपहेलनात्मक व्यवहार।
परिवार विघटन – बाबुआमाको झगडा, सम्बन्ध विच्छेद, मृत्यु।
आर्थिक असुरक्षा – खान, बस्न, पढ्न अभावस बालश्रममा संलग्नता।
द्वन्द्व र विस्थापन – द्वन्द्वकालमा अपहरण, परिवार गुमाउनु।
३. सामाजिक संरचना र पारिवारिक दबाब
नेपाली समाज सामूहिक जीवनशैलीमा आधारित छ। जसले गर्दा व्यक्तिगत स्वतन्त्रता कम हुन्छ र पारिवारिक तथा सामाजिक अपेक्षाले व्यक्तिमा अत्यधिक मानसिक दबाब सिर्जना गर्छ। महिला, किशोरी तथा एलजिबिटीक्यू समुदायमा यो समस्या झन् गम्भीर देखिन्छ। विवाहको दबाब, सामाजिक तुलना, र असफलता प्रति घृणाले मानिस मानसिक रूपले कमजोर हुन्छ।
सामाजिक कारणहरू (Social Factors)
- गरीबी, बेरोजगारी, सामाजिक बहिष्कार
- दुर्व्यसन (मदिरा, लागू औषध) को लत
- लिंग, जात, वर्गको आधारमा भेदभाव
- एक्लोपन, आप्रवासन र प्रवासको मानसिक प्रभाव
पारिवारिक दबाबका उदाहरणहरू:
- पढाइको चाप
- विवाहको दबाब
- कुनै पनि असामान्य व्यवहारमा तुरुन्त आलोचना
४. आर्थिक समस्याहरू र आत्महत्याको दर
नेपाल प्रहरी दर्पण २०८०।८१ का अनुसार ७३९९ जनाले आत्महत्या गरेका छन् ।यसका कारणहरूमा आर्थिक अभाव, बेरोजगारी, ऋणको चपेटा, व्यवसायमा घाटा र अभावजन्य जीवनशैली रहेकाछन् । जसले मानसिक तनाव बढाउँछ आर्थिक समस्याको बोझ सहन नसकेपछि व्यक्तिले आत्माहत्या गर्ने सम्मको निर्णय लिन पुग्दछ ।विशेषगरी कृषकहरू, वैदेशिक रोजगारमा गएकाहरूर दैनिक ज्यालादारीमा निर्भर मानिसहरूमा आत्महत्याको दर उच्च रहेको पाइन्छ।
५. सम्बन्ध विच्छेद र प्रेम विफलता
विवाहको असफलता वा सम्बन्ध विच्छेद मानिसको आत्मसम्मान र सामाजिक हैसियतमा चोट पुर्याउने तत्व हो। नेपालमा डिभोर्स अझै सामाजिक रूपमा स्वीकार्य नहुँदा, डिभोर्सपछि महिला तथा पुरुष दुवैलाई मानसिक तनाव हुन्छ। शहरी क्षेत्रमा युवायुवतीहरू प्रेममा धोका पाउँदा डिप्रेशन, आत्महत्या प्रयास, वा मादक पदार्थमा निर्भर हुने क्रम बढेको देखिन्छ।
६. लागूपदार्थ र मानसिक असन्तुलन
नेपालमा १५–३० वर्ष उमेर समूहका युवाहरूमा लागूपदार्थ प्रयोगको दर निकै बढेको छ। हेरोइन, ब्राउन सुगर, डाइजोपाम, गाजा, र औषधीजन्य पदार्थहरूको अत्यधिक प्रयोगले मानिसको सोच्ने, बुझ्ने र प्रतिक्रिया दिने क्षमता क्षीण हुन्छ। लागूपदार्थको लत मानसिक रोगको उत्प्रेरक बन्छ।
७. सांस्कृतिक पूर्वधारणा र झारफुक
नेपालको ग्रामीण तथा सहरी क्षेत्रमा समेत मानसिक समस्या देखिएमा मानिस झाँक्री, धामी वा तान्त्रिककहाँ जान्छन्। यसले रोगको वैज्ञानिक उपचारमा ढिलाइ हुन्छ। यसैबीच रोग जटिल बन्छ।
सांस्कृतिक/अध्यात्मिक कारणहरू
- शोक, अपराधबोध वा जीवनको उद्देश्य गुमाउनु
- अन्धविश्वास: मानसिक रोगलाई भूत-प्रेतको असर मान्ने परम्परा
- मनोवैज्ञानिक उपचारको सट्टा झारफुक गर्ने प्रवृत्ति
समाधान र सुधारका उपायहरू
विक्षिप्तता वा मानसिक असन्तुलन कुनै पनि व्यक्तिमा अचानक उत्पन्न हुने होइन; यो दीर्घकालीन मानसिक, सामाजिक, आर्थिक र जैविक कारणहरूको परिणाम हो। तर यसको समयमै पहिचान, उचित उपचार र समुचित वातावरणले ठूलो सुधार सम्भव हुन्छ। नेपालजस्तो समाजमा जहाँ मानसिक स्वास्थ्यप्रति चेतना न्यून छ, विक्षिप्त व्यक्तिहरू अझ ठूलो उपेक्षा, तिरस्कार र बहिष्कारको सिकार हुन्छन्। यस अवस्थाको समाधान बहुआयामिक तवरबाट गरिनुपर्छ ।जस्तैः
१.मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गरिनुपर्छ।
२. प्रत्येक गाउँपालिकामा मनोपरामर्शदाता राख्नुपर्ने।
३. विद्यालय तहदेखि मानसिक स्वास्थ्यको विषयमा शिक्षा।
४. आत्महत्या रोकथामका कार्यक्रम – हेल्पलाइन, गोप्य परामर्श केन्द्रहरू।
५. महिला र युवाहरूका लागि आत्मनिर्भरता तालिम।
अन्तमा, मानिस विक्षिप्त किन हुन्छ? — यसको उत्तर एकै शब्दमा छैन। यो जैविक, सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक कारणहरूको मिश्रण हो। तर समाधान पनि त्यत्तिकै समग्रतामा हुनुपर्छ। हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने“मानसिक विकार लाजकोनभइ, उपचारको विषय हो।”सहानुभूति, समर्थन र समर्पणबाट मात्र मानसिक स्वास्थ्य सुधारको बाटो खुलेको हुन्छ।अस्तु !
(माइन्ड प्लस मानसिक स्वास्थ्य तथा व्यक्तिको व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दछ)