२९ बैशाख २०८२, सोमबार

आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना

काठमाडौं ।  भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुन: सुरु गर्न प्रक्रिया अघि बढाएका छन्।

 

‘युद्ध रोकिएको छ। नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, ‘ बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले पिटिआईसँग भनेका छन्।

 

दस टोलीले विदेशी खेलाडी र कोचिङ स्टाफलाई भारत फर्काउन प्रयास गरिरहेका छन्। किनभने आइपिएल तत्काल सुचारु गर्ने योजनामा आइपिएलछ।

 

यो हप्ताको सप्ताहान्त (मे १५ तिर) भारतीय सरकारको अनुमतिमा आइपिएल सुरु हुन सक्ने बुझिएको क्रिकइन्फोले जनाएको छ।

भारत र पाकिस्तानबीच सीमा तनाव बढेपछि शुक्रबार एक हप्ताका लागि आइपिएल स्थगित गरिएको थियो।

तनावका कारण मे ८ मा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इनिङको बीचमा रद्द गर्नुपरेको थियो।

 

अहिले तत्कालको चुनौती भनेको विदेशी खेलाडीहरू फर्काउने रहेको छ। धेरैजसो खेलाडीले शुक्रबार र शनिबार भारत छोडिसकेका छन्। केही टोलीले खेलाडी र स्टाफलाई भारत फर्कन तयार रहन भनेका छन्।

 

जुन ११ मा लर्ड्समा सुरु हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनशिप फाइनलको केही समयअघि नै आइपिएल सक्नु पर्ने दबाब छ।

आइपिएल २०२५ मा कुल ५७ खेल सम्पन्न भएका थिए। सिजनमा १२ लिग खेल र चार प्लेअफ बाँकी छन्। यी खेलहरू दक्षिणका तीन शहरहरू: बेंगलुरु, चेन्नई र हैदराबादमा खेलिन सक्ने सम्भावना छ। सात टोलीहरू प्लेअफको दौडमा छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिएका छन्।