२५ बैशाख २०८२, बिहीबार

अलका मल्लकृत ‘मनका तरङ्ग’को लोकार्पण

अलका मल्लकृत कविता, गजल र गीतको सँगालो ‘मनका तरङ्ग’ यही वैशाख २० गते शनिवार राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा सुसम्पन्न भएको छ । सभापतित्व ग्रहण नगराईकन अनौपचारिक ढङ्गबाट सञ्चालित उक्त कार्यक्रममा मूर्धन्य साहित्यकार तथा गैरसाहित्यकारहरू समुपस्थित थिए । गीतकार, गायक, रङ्गकर्मी, मोडल, कानुनविद्, व्यवसायी आदिको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै सन्तानमा वस्तीले अलकाका सिर्जना सरलताका हिसाबले अलौकिक भएको बताए । उनले अलकाको एउटा गजल पनि गुनगुनाए ।

बहुआयामिक दिग्गज व्यक्तित्व प्रकाश सायमिले उपस्थित सम्पूर्ण अभ्यागतहरूको सुस्पष्ट परिचय दिँदै अलकाको सिर्जनशील अनुशीलनको मुक्तकण्ठले प्रशंसा गरे । गजलकार ध्रुब जोशीले आफ्नै गजल गाए भने आमाको महिमागानमा महत्त्वपूर्ण शब्दहरू खर्चेका सुपरिचित कानुनविद् भीमार्जुन आचार्यले अलकाको ‘आमा’ कवितासँग मिल्दोजुल्दो आफ्नो गीति एल्बम अर्को महिना बजारमा आउने अवगत गराए । उता विख्यात साहित्यकार राजेन्द्र शलभले अलकाको एउटा कविता सुमधुर स्वरमा वाचन गर्दै थप सफलताको कामना गरे ।

त्यस्तै प्रसिद्ध गायक दीप श्रेष्ठले अलकाका गीतहरूमध्येबाट एउटा गीत आफूले गाउने वाचा गरे । उनका गीत सरल र अभिधात्मक भएको श्रेष्ठको कथन थियो । त्यसैगरी कवि शैलेन्द्र साकारले कविता लेखनबारे सङ्क्षिप्त भनाइ राख्दै अलकालाई कवितासङ्ग्रह प्रकाशन गरेकोमा हार्दिक बधाई दिए ।

चर्चित साहित्यकार विश्वविमोहन श्रेष्ठले अलका मल्लको लेखन सीप र सीमाबारे सङ्क्षिप्तमा आफ्ना भनाइ राख्दै परिष्कारका उपायहरूबारे पनि महत्त्वपूर्ण विषय प्रस्तुत गरे । अमेरिकामा रहँदा शैलेन्द्र साकारको कृतिका विषयमा आफूले राख्न पाएको मन्तव्यको प्रसङ्ग कोट्याउँदै अलकामा अथाह सम्भावना रहेको उल्लेख गरे ।

कृतिकार अलका मल्लले कृतिलाई यो अवस्थामा ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्ने त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, उपाध्यक्ष राजेन्द्रमान डङ्गोल, साहित्यकार डा.बिन्दु शर्मा तथा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ साथै आवरण र छपाइका निम्ति एजुकेसनल पब्लिकेसन्स हाउसप्रति कृतज्ञता ज्ञापन गरिन् । उनले आफ्नो कृतिबाट एउटा कविता वाचन पनि गरिन् । मल्लले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद पनि दिइन् ।

नरेश भट्टराईले मिठासपूर्ण ढङ्गले सहजीकरण गरेको उक्त अनौपचारिक कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, दीपक भेटुवाल, नवीन पल्लव, अप्सरा स्मृति, रजनीमिला महर्जन, वसन्त नकर्मी, समाश्री,अश्विनी कोइराला, गोपालकृष्ण अधिकारी, सत्या अधिकारी, डिल्लीराम मिश्र ‘श्रमजीवी’, दिलकुमारी डङ्गोल लगायत मूर्धन्य व्यक्तित्वहरूको पनि उपस्थिति थियो ।