२५ बैशाख २०८२, बिहीबार

लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

काठमाडौं । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लण्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।

 

गत मङ्गलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशङ्कामा लण्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए ।

 

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनको भनाइ छ । हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले भने, ‘प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शङ्कास्पद नरहेको बताएको छ । बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउँला ।’

 

शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उनले जानकारी दिए । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लण्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए ।