काठमाडौँ । प्रहरीले बंगलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ कालीमाटी बस्ने बंगलादेशी नागरिक मोहम्मद मुस्तफिजुर रहमान, महम्मद फरहाद हुसेन चौदरी, अबु युसुफ एमडी हानिफ, मिल्तान काजी शाहताब हुसेन र अजिम मोलिक रहेका छन् ।
उनीहरूले नेपाल हुँदै अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भियालगायतका मुलुकमा रोजगारीको लागि पठाउने भन्दै एजेन्टमार्फत पर्यटक भिसामा बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कविहीन बनेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उजुरीको आधारमा उनीहरूलाई सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।