– माधव घिमिरे ‘अटल’
ग्रामीण पर्यटकीय गन्तव्य स्थल प्रवर्धन गर्ने आफ्नो मूल ध्येयबमोजिम गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल)ले दुई दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
भिटोफ-नेपाल सम्बद्ध टोलीले सैलुङ, डाँडाकटेरी, दोरम्बा, खाँडादेवी लगायत महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थानहरूको अवलोकन भ्रमण गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय बिमल ठकुरी थिए ।
प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने सिलसिलामा ठकुरीले कार्यक्रम अन्तरक्रियात्मक तर सङ्क्षिप्त हुनुपर्नेमा जोड दिए । अधिकांश युवाहरू पलायन भइसकेका र बुढाबुढी मात्र रहेको अवस्थामा गाउँ पर्यटन विकास पनि सहज नभएको उनको कथन थियो । सैलुङको ‘भ्यू टावर’ मर्मत गर्नुपर्ने बताउँदै यस वर्षको बजेट विनियोजन हुन लागेकाले भिटोफ-नेपाललाई प्रदेश सरकारसँगको साझेदारीमा गर्नुपर्ने कामका योजना यथाशक्य छिटो प्रस्तुत गर्न अनुरोध गरे । आफू भिटोफबारे कम जानकार भएपनि सचिवसँग छलफल पश्चात् धेरथोर बजेट विनियोजन गरेको अवगत गराए । वागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले नुवाकोट र दोरम्बाका दुई वटै कार्यक्रम उपलब्धिमूलक ढङ्गले सम्पन्न गराएकोमा भिटोफ-नेपाललाई धन्यवाद ज्ञापन गरे ।
पर्यटन प्रवर्धनका निम्ति नीतिगत, संरचनात्मक तथा कार्यान्वयनमा सुधार ल्याउन मन्त्रालय अहोरात्र खटिरहेको अवगत गराउँदै यहाँका घरवास सञ्चालकलाई विशेष आभार प्रकट गरे । नीति तथा कार्यक्रम बनाउन मन्त्रीज्यू यही छेकमा दुई दुई पटक यहाँ आउनुको अर्थ उहाँ गाउँ पर्यटन प्रवर्धनका निम्ति चिन्तनशील रहेको सुवेदीले बताए । दोरम्बा-सैलुङ गा.पा.अध्यक्ष मैनकुमार तामाङले आफू राज्यले विद्रोहीलाई कत्लेआम गर्दै गर्दा संयोगले उम्केको एक पात्र भएकाले पनि बीएस-२०६० सामुदायिक घरवासप्रति विशेष अनुराग हुनु स्वाभाविक भएको बताए । खोलाखर्क व्यवस्थित घरवास सञ्चालनका निम्ति आफूले विनियोजन गरेको तीन करोड बजेट आन्तरिक कचिङ्गलका कारण खर्च नभएकामा असन्तुष्ट भएको खुलासा गरे । दोरम्बा-सैलुङको समग्र विकासमा आफू दत्तचित्त भएको उनको कथन थियो । यसै गरी नाथमका विभागीय प्रमुख अजयले नाथमले दुई दशकयता घरवासलाई व्यवस्थित गर्ने तथा स्थानीय पथप्रदर्शकलाई तालिम दिने काम अक्षुण्ण ढङ्गले गर्दै आएको र त्यस सम्बन्धी कुनै सरसहयोग आवश्यक परेमा आफूहरूलाई स्मरण गर्न आग्रह गरे ।
यसरी नै भिटोफ-नेपालका पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका पूर्व सदस्य शिव लामिछानेले दोरम्बा जस्तै भिटोफ-नेपालले अन्यत्र घोषणा गरेका घरवासले अप्रत्याशित फड्को मारेकामा दोरम्बा अलिक पछि परेको अनुभूति गरेरै यो कार्यक्रम यहाँ आयोजना गरिएको प्रस्ट्याए । उनले भिटोफ-नेपालसँग सहकार्य गर्ने वागमती प्रदेश सरकारलाई विशेष आभार प्रकट गरे ।
त्यसैगरी भिटोफ-नेपालका पूर्व अध्यक्ष बोधराज भण्डारीले सामुदायिक घरवास सञ्चालकलाई घरवास सञ्चालन गर्दै गर्दा स्थानीय किसान वा मजदुरले कति लाभ पाए अथवा उत्पादनले कति महत्त्व पाए भन्नेतिर विशेष ध्यान पुर्याउन आग्रह गर्दै बजारमा पाइने पत्रु खाना खानका निम्ति कुनै आन्तरिक पर्यटक यहाँ नआउने ठोकुवा गरे । प्लास्टिकजन्य वस्तु प्रयोगमा कडाइपूर्वक निगरानी गर्न उनले सिफारिस गरे । यसै गरी जीटिनका पूर्व अध्यक्ष तथा टानका सदस्य अम्बिर गुरूङले दोरम्बालाई आलु पकेट क्षेत्र बनाई ‘अर्ग्यानिक आलुका हर परिकार खानका निम्ति दोरम्बा जाऔँ ‘ भन्ने नारा बनाउन सकिने बताए । जब यहाँका आलुका बारे प्रचारप्रसार हुन्छ तब बोरा बोकेर बजार जानुपर्ने झन्झटबाट मुक्तिमात्र पाइन्न, यहाँ आउने पाहुनाहरूलाई त्यही उपहार दिएर पठाउन सकिन्छ भन्ने गुरुङको भनाइ थियो ।
भिटोफ-नेपालका महासचिव चोपेन्द्रबहादुर खड्काले सहजीकरण गरेको सो कार्यक्रमका विशिष्ट पाहुनाहरू वागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री बिमल ठकुरी, सचिव दीपेन्द्र सुवेदी, दोरम्बा-सैलुङ गापा अध्यक्ष लगायतलाई अध्यक्ष सकुन्तला पाण्डे देवकोटाले आभार प्रकट गरिन् । उनले भिटोफ-नेपाल गाउँ पर्यटन प्रवर्धनका निम्ति अहोरात्र चिन्तनशील रहेको बताइन् । आगामी दिनमा पनि प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न आफूहरू इच्छुक भएको उनको भनाइ थियो ।
सो कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूको न्यानो स्वागत भिटोफ-नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलियाले गरेका थिए ।
