काठमाडौं :जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ ।भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू ड्रम तथा जर्कीनबाट तेल किन्न बाध्य थिए ।
आज बिहान आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पम्प उद्घाटन गर्नुभयो । प्रमुख खत्रीका अनुसार अब उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने र महँगोपनाबाट समेत राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगम अन्तर्गतको पम्प सञ्चालनमा आएकोमा मुक्ति बस्नेत सप्लायर्सलाई धन्यवाद दिनुभयो । अब सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधनलाई तेल आपूर्तिमा सहजता हुने बताउनुभयो ।
यातायात व्यवसायी भीमबहादुर बुढाले पनि पम्प सञ्चालनसँगै व्यवसायीहरूलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्दै ड्रमको तेलको अशुद्धता र उच्च मूल्यको समस्याबाट मुक्त हुने प्रतिक्रिया दिनुभयो ।
पम्प सञ्चालक बीरबहादुर बस्नेतले १० वर्षदेखि गरेको प्रयास सबैको सहयोगमा आज सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।