६ बैशाख २०८२, शनिबार

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज

काठमाडौं। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यावाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।

 

उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए भने उनी माओवादी नेताहरूसँग चीन भ्रमणमा गएका थिए।

आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णयविरुद्ध उपाध्यक्ष थारु अदालत गएकी थिइन्।

 

बिहीबार उनको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले वडाध्यक्षलाई जिम्मेवारी दिने अध्यक्षको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो।

उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट बञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाटै देखिएकोले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले पाउने आफ्नो पूर्व आदेश दोहोर्याएको हो।

यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकाको यस्तै घटनामा अदालतले उपप्रमुखले जिम्मेवारी पाउने ठहर गरेको थियो।

 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन भन्ने व्यवस्था अन्तर्गत उपदफा (४) को (क) मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सातदिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६ (४) को देहाय (ख) (२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएको पाइएको’ भन्दै अदालतले कानुनी प्रबन्ध सम्झाएको छ।

 

अदालतको आदेशमा भनिएको छ, ‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदा सम्म वहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.नं. १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्वद्ध निर्णयहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ। प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनू।’

 

मंसिरको उपनिर्वाचनमा माओवादीबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए।

माझीले माओवादीबाटै वडामा जितेका रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मा दिएका थिए। अध्यक्षमा निर्वाचित भएर आउने बित्तिकैदेखि विवादमा पर्दै आएका अध्यक्ष माझीले यसअघि उपाध्यक्षले प्रयोग गर्दै आएको गाडीसमेत खोसेका थिए।