१५ असोज, । दशैं मनाउन गाउँ फर्किने यात्रुका कारण शनिबार काठमाडौंबाट धेरै सवारी साधन बाहिरिएका छन् । काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा जाम बढेको छ ।
नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार शनिबार काठमाडौंबाट बाहिरिने गाडी अत्याधिक रहेका छन् । ‘नर्मल दिनमा भन्दा आज चार पाँच गुणा बढी गाडीहरु बाहिरिएका छन्, सडक ठप्प त भएको छैन, तर प्रेसर अत्यधिक छ’ उनले भने ।
उनका अनुसार शनिबार कार, जिप र मोटरसाइकल पनि अरु दिन भन्दा धेरै बाहिरिएका छन् ।
सडकमा अवरोध कतै छैन, तर सवारी साधनको संख्या धेरै भएकाले नै जाम भएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् । ‘सुरुङमार्गमा नजिक सडक त्यति राम्रो छैन, खाल्डाखुल्डी छ, उकालोमा कन्टेनरहरु बिग्रिँदा पनि जाम हुन्छ, त्यसैले दिउँसोको समयमा कन्टेनर रोकेका छौं’ उनले भने ।