५ चैत्र २०८१, मंगलवार

समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

काठमाडौं :नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी  र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो ।
मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले भने – ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई अघि बढाउने र सनिवार  बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने , दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत् विरोध प्रदर्शनलाई भव्य बनाउने । हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने निर्णय भएको छ ।’
नेता प्रकाण्ड सीका अनुसार मोर्चाको बैठकले सनिवार बिहान ११ बजेदेखि बुद्धिजीवी र नागरिक समाजसँग कुपण्डोलस्थित होटल हिमालयनमा अन्तरक्रिया गर्ने र सोहि स्थानमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ। उनले मोर्चाको बैठकले अहिले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको र विषय एकदमै गम्भीर रहेको निष्कर्ष निकालेको बताउदै भने- ‘अस्ति हामीले कार्यक्रमको बारेमा केही सोचेका थियौं र केही भनेका पनि थियौं । ती कार्यक्रमलाई अब आगामी दिनमा अगाडि बढाउने सोचिएको छ । सनिवार ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया र उहाँहरुसँगको परामर्श सुरु हुने छ । दुई साढे दुई घण्टासम्म त्यो कार्यक्रम चल्छ।”
नेता प्रकाण्ड सीका अनुसार मोर्चाको बैठकले संसदवादी  दल र संसदीय राजनीतिभन्दा बाहिर रहेका दलहरुसँग पनि छलफल बढाउने, भेटघाट र वार्तालाई अगाडि बढाउने निर्णय गरेको छ ।