२ चैत्र २०८१, शनिबार

फागुको सुस्तायो चहलपहल

काठमाडौं । केही दिन भयो काठमाडौंको मौसम खुल्न सकेको छैन। न घाम लाग्ने, न बादल नै फाट्ने अचम्मसँग धुम्मिएको छ, काठमाडौं उपत्यकासहित देशको धेरै भागको मौसम।

 

पर्यावरणले वसन्त डाकिसक्दा पनि मौसमले खुलेर स्वागत गर्न नसकेकै अवस्थामा फागुको रौनक भित्रिएको छ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा यो पर्वको विशेष रौनक छाउने गर्छ।

 

तराईं क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट होली पर्व मनान्छ। त्रेता युगदेखि नै नेपाली, परम्परा र रीतिरिवाजको अविच्छिन्न हिस्सा बनेको होली विशेष गरेर रङ र पानीको सांस्कृतिक संगम हो।

आपसमा रङ दलेर र पानी छ्यापेर मनाइने यो पर्व भावना तथा सद्भाव सेतु पनि हो।

 

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै यो पर्वको उल्लास सुरू हुन्छ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याएपछि देशभर फागुको उमंग छाउँछ।

 

वसन्तपुरमा ठड्याइने चीरको पनि छुट्टै सांस्कृतिक वैशिष्ट्य छ। भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई होली सुरू हुने एक साताअघि नै विशेष पूजाअर्चना गरी ठड्याइने गरिन्छ। रंगीचंगी ध्वजापताका टाँगेर मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर गाडिन्छ। त्यसपछि चीरलाई परिक्रमा गर्दै एक आपसमा अबिर लगायत रङ छ्यापी होलीको हर्ष सुरू हुन्छ।

पछिल्लो समय फागु पर्वको रौनक भने सुस्ताउँदै गएको छ। प्रशासनले जबर्जस्ती रङ दल्न, इच्छाविपरीत पानी छ्याप्न निषेध गरेपछि विगतका दिनमा जस्तो बाटो ढुकेर होली खेल्ने भेटिँदैनन्। साथी–संगाती र परिवारकै बीचमा यो पर्व सीमित भएको छ।

फागु पूर्णिमाको अघिल्लो दिन होलीको खासै प्रभाव छैन। फागु खेल्न लगाइने टिसर्ट किन्नेहरूको चहलपहल पनि खासै देखिँदैन। रङ, पिचकारी आदि बेच्न राखिएको पसलहरू पनि सुनसानप्रायः छन्।