१४ फाल्गुन २०८१, बुधबार

रोड रोलरले किचेर स्युचाटारमा एक जनाको मृत्यु, चालक पक्राउ

काठमाडौं । काठमाडौंको स्युचाटारमा रोड रोलरले किचेर एक जनाको मृत्यु भएको छ। कलंकी स्युचाटार निर्माण सडकखण्डमा शुक्रबार बिहान एक पुरूषको शव भेटिएको थियो। अनुसन्धानको क्रममा ती पुरूष धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरूङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एसपी काजिकुमार आचार्यले जानकारी दिए। ‘निर्माणधीन सडकमा मानिस ढलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ एसपी आचार्यले भने, ‘अनुसन्धान गर्ने क्रममा रोड रोलरले किचेर मृत्यु भएको खुल्यो।’ अहिले रोड रोलर चालक मकवानपुर घरभई नागार्जुन नगरपालिका १० बस्ने उमेश स्याङताङ पक्राउ परेका छन्। उनीसँग रोड रोलरको सवारी चालक अनुमती पत्र (लाइसेन्स) समेत नभएको एसपी आचार्यले जानकारी दिए।