१९ माघ २०८१, शनिबार

उदयपुरमा २० हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

काठमाडौं। उदयपुरमा २० हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

 

सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका ८ पालिकाका ६ देखि १० कक्षासम्म सञ्चालित २ सय ८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र २१ वटा गरी कुल ३ सय ९६ खोप केन्द्रबाट २० हजार १ सय २२ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए ।

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मंगलबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेरे एचपीभी खोप अभियान तथा समग्र स्वास्थ्य अवस्थासम्बन्धी जानकारी गराएको थियो ।

 

कार्यालयले दिएको जानकारी अनुसार उदयपुरमा यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन २ गतेसम्म जिल्लाभरका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीहरु र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइनेछ ।

 

उदयपुरमा एचपीभी खोप अभियान माघ २२ गते सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयबाट सुरु गरिने बताइएको छ । एचपीभी खोपका लागि जिल्लामा ४ सय ३ स्वास्थ्यकर्मी र ७ सय ९९ जना स्वयम् सेवक परिचालन गरिनेछ ।