८ पुष २०८१, सोमबार

नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात

काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि खासै भेटिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक  अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको उल्लेख छ । बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अध्ययन प्रतिवेदन अनुसार बाह्य बजारमा अदुवाबाट बनेका विभिन्न खाद्यवस्तुहरूको माग पनि हुने गरेको पाइन्छ । अदुवा नेपालको मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि एउटा महत्त्वपूर्ण नगदे बालीको रूपमा स्थापित छ । पछिल्लो समय तराई क्षेत्रमा पनि अदुवा खेतीको केही मात्रमा पाइन्छ । विशेषतः सल्यान, पाल्पा, इलाम, नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, भोजपुर लगायत जिल्लामा अदुवा खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ बताउँछन् । यीमध्ये केही जिल्लामा अदुवा जोनको रूपमा घोषणा गरी खेती विस्तार गरिएको उनको भनाइ छ ।