७ पुष २०८१, आईतवार

इयूले तोक्यो मेटालाई करिब ८०० मिलियन युरो जरिवाना

काठमाडौं । युरोपियन युनियन (इयू)ले फेसबुकको माउ कम्पनी मेटालाई करिब ८०० मिलियन युरोको जरिवाना तोकेको छ। मेटाले अनलाइन विज्ञापनको व्यवसायमा ‘अपमानजनक व्यवहार’ गरेको भन्दै इयूको कार्यकारी निकायले लामो अनुसन्धान गर्दै बिहीबार ७९७.७२ मिलियन युरो (८४१ मिलियन डलर ) जरिवाना तोकेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ। मेटाले आफू शक्तिशाली स्थानमा बसेर विज्ञापनको व्यापारमा प्रतिस्पर्धाको नियमविरूद्ध लागेको आरोपमा इयुले जरिवाना गरेको हो। ‘मार्केटप्लेस’ मा आफ्नो चाहनाअनुसारको विज्ञापन देखाउने र प्रतिस्पर्धीको विज्ञापन नदेखाउने गरी अपमानजनक व्यवहार गरेको समाचारमा भनिएको छ। ‘प्रतिस्पर्धा सम्बन्धी कानुन’ विरूद्धको काम गरेको भन्दै इयूले पहिलो पटक सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना तोकेको समाचारमा उल्लेख छ। मेटाले भने इयूले फेसबुक प्रयोगकर्ताले मार्केटप्लेसमा संलग्न हुने/नहुने स्वतन्त्र विषय रहेको जनाएको छ। यो आदेशविरूद्ध मेटाले पुनर्विचारका लागि निवेदन दिने बताएको छ। यसअघि इयूले गुगल र एप्पललाई पनि जरिवाना तोकेको थियो।