११ श्रावण २०८१, शनिबार

सर्लाहीमा प्रहरीको गाेलि लागि एक युवकको मृत्युु

काठमाडौं : सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।
उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।
प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ ।