११ श्रावण २०८१, शनिबार

राजकीय सम्मान सहित पुर्व सभामुख नेम्वाङकाे अन्त्यष्टि गरियकाे छ

काठमाडौं ।संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।

नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।