११ श्रावण २०८१, शनिबार

जाजरकोट,कुशे गाउपालिका देशकै पहिलो आधारभूत निशुल्क तथा शान्ति क्षेत्र घाेषणा

जाजरकोट। जिल्लाको कुशे गाँउपालिकालाई देशकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ

शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो ।

कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि कुशेवासीलाई बधाई तथा शुभकामना दिए ।

अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ ।
कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहुँचमा आएका छन् ।

प्रारम्भिक बालविकास देखी कक्षा ८ सम्म जम्मा ७ हजार ४ सय ८४ जना सवै बालबालबालिकाहरुलाई कुशे गाउँपालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको, अपाङगता भएका ९ जना बालबालिकाहरुलाई घरमै विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको, ८ जना अपाङगता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत विद्यालयहरुमा पढ्ने सुनिश्चितता गरिएको छ ।

सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको साँझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा गाँउपालिकाले नेपालमै पहिलो अनिवार्य तथा निःशुल्क शिक्षा र विद्यालय शान्ति क्षेत्र पालिका कार्यान्वयनमा ल्याएको हो ।
कुशे गाउँपालिकामा रहेका ५५ वटै विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिच २७ वुंदे विद्यालय संचालन तथा व्यवस्थापनको लागि सम्झौता, शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन करार सम्झौता कार्यान्वयन गरिरहेको र प्रधानाध्यापकहरुले विद्यालय शिक्षकहरु संग कार्यसम्पादन करार सम्झौता गर्ने गरि कार्य अगाडि वढिरहेको छ। गाउँपालिका, वडा तथा विद्यालय स्तरमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन कार्यक्रमहरु संञ्चालन गरि सबै तहवाट प्रतिबद्धता गरी कार्यन्वयन भैरहेको अध्यक्ष बस्नेतले बताए ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, कुशे बासीहरुको इच्छा” भन्ने मुल नाराका साथ भएको घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले घोषणा पत्र, निमित्त प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाहीले प्रगति विवरण र शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले कार्यप्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा अभियानलाई सहयोग गर्ने सरोकारवालाहरुलाई कदरपत्र द्धारा सम्मान गरिएको थियो ।