११ श्रावण २०८१, शनिबार

बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

नेपालगन्ज ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ ।

भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत  बाँकेको सम्शेरगन्ज स्थित राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्युको सनाखत भयकाे छ :

दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको चखौरास्थित थारू संग्रालयको भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बाटोमा बिग्रिएर राखिएको थियो’ डीएसपी तिवारीले भने, ‘तीव्र गतिको गाडी त्यही ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । गाडीभित्र धेरै नाचगान गर्दै रमाइलो गरेका थिए । दुर्घटना कसरी हुन पुग्यो भनेर घाइतेलाई सोध्दा पनि एक्सासि ट्रकमा ठोकिन पुगेको बताएका छन् ।’

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ सम्शेरगन्ज नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको कोहलपुर स्थित शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने मृतकहरुको शव पनि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।