११ श्रावण २०८१, शनिबार

संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

संखुवासभा ।संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलङ्गगी र नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बलामीले चाेरी मुद्दामा र ताेलाङ्गीले बलात्कारको अभियोगमा जेलजीवन बिताइरहेका थिए ।

‘कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,’  प्रजिअ कार्कीले भने ।

कार्कीका अनुसार विनोद र आकाश भाग्ने उद्देश्यले जेलको शौचालयको रड काटेर बाहिर निस्किएका थिए । तर, ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जेलमै राखेको थियो ।

बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । ‘उनीहरुलाई अस्पताल लैजाने क्रममा मृत्यु भयो,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।

उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।