११ श्रावण २०८१, शनिबार

सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

ललितपुर : सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ ।

सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् ।

४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने भनिएको छ ।

यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ ।

यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा भनिएको छ ।

चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ । यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ ।

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ । अझै परिवारले शव बुझ्न नमानेपछि सरकारले मृतकका परिवारसँग थप सहमति गरेको हो ।

सहमति पत्र :