५ माघ २०८१, शनिबार

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  ।

यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ