२३ भाद्र २०८१, आईतवार

भुकम्पले घर भत्किय पछि त्रिपाल मुनि बस्दै आयकी शर्मिलाकाे चिसाेले ज्यान लियाे

जाजरकोट :भूकम्पले घर भत्किय पछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका वडा न. ८ कि  २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।

नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।

चिसोका कारण जाजरकोटमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल,वडा -२ कि ६९बर्षकि पवित्र सिंह र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

गत कार्तिक १७ गते राति ११:४७मा जाजरकोट जिल्लाकाे बारेकाेट गाउपालिकाकाे वडा न १ रामिडाँडा केन्द्रबिन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्पले जाजरकोट ,रुकुम पश्चिम र सल्यान लगायतका आसपासका जिल्लाहरुमा गरि १५६ जनाकाे मृत्यु भयकाे थियाे भने ३६५ जना भन्दा बढि घाइते भई विभिन्न अस्पतालमा उपचारक्रममा छन्। र ६२ अर्ब बराबरको भाैतिक संरचना हरुकाे क्षति भयकाे अनुमान गरियकाे  छ ।