२३ भाद्र २०८१, आईतवार

बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र–उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयपरिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्।

कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेकाे प्राधिकरणले जनाएको छ। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रूख काट्ने मात्र होइन, रूख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन्।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नासपातीको बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरे। सो अवसरमा मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत पनि सहभागी थिए।